भारु ५०० र १००० का नोटमाथिको प्रतिबन्ध हट्यो

1256 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं : नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरुमा लगाउँदै आएको बन्देज मंगलबारबाट हटाएको छ। राष्ट्र बैंकले नेपाली र भारतीय नागरिकले भारतीय रुपैयाँ पाँच सय र एक हजार दरका नोटहरु प्रति व्यक्ति २५ हजार (भारु) सम्म नेपाल भित्र्याउन र लैजान पाउने व्यवस्था गरेको हो पहिलो पोस्टमा खबर लेखिएको छ ।

तोकिएको (२५ हजारभन्दा बढी) नोट ल्याएमा बाँकी रकम सरकारले जफत गर्ने छ। नेपाली नागरिकले भारतीय रुपैयाँ भारत बाहेक अन्य मुलुकमा लैजान र अन्य मुलुकबाट ल्याउन नपाउने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अघिल्लो भ्रमणका बेला नेपालमा भारतीय ठूला नोट चलाउने व्यवस्था आफ्नो तर्फबाट गर्ने बताएका थिए। मोदीले आश्वासन दिएसँगै भारत सरकारले ठूला नोट नेपालमा चलाउन व्यवस्था मिलाएको थियो।

bhaaruनेपालमा १४ वर्षदेखि भारु पाँच सयभन्दा बढी दरका नोटहरु चलाउन प्रतिबन्ध लगाइएको थियो। नेपाल र भारतबीच २०७० पुसमा भएको वाणिज्य सचिवस्तरीय अन्तर सरकारी समिति (आइजिसी) को बैठकले नै ठूला दरका भारु नोट चलाउन सहमति गरिसकेको थियो। सहमति भएपनि त्यसको कार्यान्वयन भइरहेको थिएन।

मोदीको औपचारिक घोषणापछि पाँच सय र एक हजार दरका नोटहरु चल्ने निश्चित भएको थियो। भारु ठूला नोटहरु चलेपछि भारतमा काम गर्न गएका नेपालीका साथै नेपाल आउने भारतीय पर्यटकलाई पनि सजिलो हुने छ।

नोट सटही गर्न सजिलो होस् भनेर सीमा क्षेत्रमा दुवै देशले पैसा साट्ने काउन्टर खोलिने छ। काउन्टरबाट भारतबाट नेपाल जाने वा नेपालबाट भारत जानेले आफ्नो सुविधा अनुसार भारु साटेर लैजान पाउने छन्।

भारतमा सन् २००० मा फोरेन एक्सचेन्ज म्यानेजमेन्ट (विदेशी मुद्रा विनिमय व्यवस्थापन) ऐन आएपछि नेपालमा ठूला दरका भारु चल्न छाडेको थियो। ऐन आउँदा भारतमा एक हजारका नोटहरु चलनचल्तीमा आएको थिएनन्।

यो ऐन अन्तर्गत बनेका चार नियमावलीमध्ये एउटामा ‘नेपाल र भुटानमा ५ सय रुपैयाँभन्दा ठूला नोटहरु लैजान वा पठाउन प्रतिबन्ध गरिएको छ’ भन्ने वाक्यांश परेपछि भारु ठूला नोटको कारोबार बन्द भएको थियो।

ठूला दरका नोटहरु बढी तस्करी हुने भएकाले भारतीय पक्षले आन्तरिक सुरक्षाका लागि नेपालमा पाँच सयमाथिका नोट लैजान प्रतिबन्ध लगाएको थियो। भारतले प्रतिबन्ध लगाएपछि नेपालमा एक सय दरभन्दा कमका भारु नोटहरु मात्र चल्दै आएको थियो।

भारतले नेपालमा पाँच सय माथिका भारु लैजान नपाउने व्यवस्था गरेपछि राष्ट्र बैंकले पनि नेपालमा ठूला नोटको कारोबार नगर्न निर्देशन दिएको थियो। राष्ट्र बैंकले आफूले संकलन गरेका ठूला नोटहरु भारतीय केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबिआइ) मा नसाटिने भएपछि नेपालभित्रको कारोबार अवैध भएको भन्दै सार्वजनिक सुचना जारी गरेको थियो।

नेपालमा ठूला दरका भारुका नोटहरु अवैधानिक भएपनि चलचल्तीमा भने छँदैछन्। नेपालका सीमावर्ती सहरमा ठूला दरका भारु नोटहरु चल्दै आएका छन्। भारतीय पर्यटकहरु बढी आउने विराटनगर, वीरगञ्ज, भैरहवाका साथै राजधानीका व्यापारिक स्थलहरुमा भारु पाँच सय माथिका नोटहरु चल्दै आएको छ। औपचारिक व्यापार तथा बैंकिङ प्रणालीमा नचल्ने भएकाले यसबाट भारतमा रहेका नेपाली कामदारहरुलाई अप्ठेरो पर्ने गरेको थियो।

नेपालमा अवैध छ भन्ने थाहा नपाइ पाँच सयभन्दा माथिका भारुहरु बोकेर आउने नेपाली (भारतमा काम गर्न गएका) हरु अवैध भारु कारोबारको आरोपमा पक्राउ पर्दै आएका थिए। कतिपय नेपालीहरुले सीमा क्षेत्रमा नोट साट्न बसेका दलालहरुलाई प्रचलित विनिमय दर (भारु १०० बराबर नेपाली १६० रुपैयाँ) भन्दा कममा बिक्री गर्नु पर्ने बाध्यता पनि थियो।