गाउँभरि कतै पनि छैन शौचालय, जिल्ला भयो खुला दिसामुक्त

549 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

चितवन, – चितवन जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरिएको ५ वर्ष पुगिसकेको छ । तर, जिल्लाको विकट काउलेको एउटा गाउँभरि कतै पनि शौचालय छैन ।

काउले–१ को साप्रेनी गाउँको कुनै पनि घरमा शौचालय छैनन् । शौचालय बनाउनका लागि कसैले वास्ता नगरेपछि गाउँमा शौचालय बनाउन नसकिएको स्थानीय बताउँछन् । करीब ३५ घरधुरी रहेको साप्रेनीमा कसैको घरमा पनि शौचालय छैन ।

गाविसले खुला दिसामुक्त क्षेत्र घोषणाका क्रममा अस्थायी खाल्डो बनाउन लगाएको थियो । तर, त्यसपछि केही काम भएको छैन । शौचालयको उपयोग र फाइदाका सम्बन्धमा गाउँलेहरूलाई कसैले सिकाएको पनि छैन । सरसफाइको चेतनाका लागि कुनै कार्यक्रम पनि भएको छैन । ‘गाउँको समस्या भनेको शौचालय हो’ जनता राप्रावि राङचुराङका प्रधानाध्यापक रहेका स्थानीय श्याम गुरुङले भने । उनका अनुसार एक÷दुईवटा घरमा मात्र शौचालय छ ।

घरमा शौचालय नभएको कारण गाउलेहरू दिसापिसाबका लागि नजिकैको डाँडा र झाडीमा जाने गर्दछन् । शौचालय नभएको कारण विशेषगरी महिला समस्यामा पर्ने गर्छन् । पाहुना आउँदा निकै समस्या हुने स्थानीय बताउँछन् । ‘हाम्रो गाउँमा त कसैको घरमा शौचालय छैन’ स्थानीय रामबहादुर चेपाङले भने, ‘पाहुना आउँदा शौचालय खोज्दा झाडी देखाउने गरेका छौँ ।’ शौचालय नहुँदा समस्या हुने गरेको भए पनि आर्थिक अवस्था कमजोर भएका कारण शौचालयको निर्माण गर्न नसकिएको उनको भनाइ छ ।

जनचेतनामूलक कार्यक्रमका लागि साप्रेनी पुगेका स्वास्थ्यकर्मी शेष सापकोटाले शौचालय र पिउने पानी नभई हचुवाको भरमा घोषणा गरिएको बताए । ‘गाउँमै शौचालय छैन, यो विनातयारी, पूर्वयोजना घोषणाका लागि मात्र गरिएको काम हो’ सापकोटाले भने, ‘पानी र शौचालय नभएको गाउँलाई सदरमुकाममा बसेर घोषणा गर्नुको कुनै औचित्य हुँदैन ।’

गाउँलेले शौचालय बारेमा बुझेका छैनन् । शौचालय नभएको सोही गाउँलाई नगरपालिका प्रस्ताव गरिएको छ । साप्रेनीमा खानेपानीको समेत समस्या थियो । तर, अहिले सौराहाको होटल मोनालिसाले करिब ८ लाखको लगानीमा खानेपानी ल्याएको छ । साप्रेनीको पारिपट्टी रहेको जिङ्लाउ र नान्दारका पनि अधिकांश घरमा शौचालय छैनन् । यी गाउँमा भने घोषणा गर्दा प्यान वितरण गरिए पनि त्यसको कुनै प्रयोग भएन । नान्दारका यमप्रसाद चेपाङले छलफल नै नगरी घोषणा गरिएको बताए ।