ढुकटी खेल्दैगरेका १० पक्राउ

534 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौँ, १४ फागुन । अवैधरुपमा ढुकटी खेलिरहेको अवस्थामा महानगरीय अपराध अनुसन्धान महाशाखाले राजधानीको डल्लु आवास क्षेत्रबाट १० जनालाई पक्राउ गरेको छ ।

अवैधरुपमा निक्षेप सङ्कलन गरी गैरकानुनी क्रियाकलापमा सङ्लग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।

अवैधरुपमा ढुकुटी खेलिरहेको भन्ने सूचनाका आधारमा महाशाखाको टोलीले वुधबार साँझ उनीहरूलाई पक्राउ गरेको भएपनि आज आवश्यक अनुसन्धानको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको हो ।

उनीहरूको साथबाट प्रहरीले रु ११ लाख नौ हजार ७३५, आठ हजार ७०० भारतीय रुपैयाँ, विभिन्न बैंकहरूको काटिएको चेक रु ३१ लाख ९७ हजार ५००, ढुकुटी खेलिएको हरहिसाब राखेका विभिन्न व्यक्तिको नामसमेत उल्लेख भएको डायरी र क्याल्कुलेटर बरामद गरिएको छ ।

पक्राउ पर्नेमा सुचित्रा माली, सम्पूर्ण घर्तीमगर, बालकृष्ण घर्तीमगर, सुभाष जिसी, श्वेता राई, बविता भट्ट (सापकोटा), कञ्चन महर्जन, निलम तामाङ, सङ्गीता थापा, साङ्गे शेर्पा रहेका छन् ।

उनीहरूमध्ये कपाली, राई, घर्तीमगर, भट्टलगायतका व्यक्ति यसअघि पनि सोही अपराधमा पक्राउ परिसकेका व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

अवैध रुपमा निक्षेप सङ्कलन गर्नु गैरकानुनी कारोबारको रुपमा मानिन्छ । ढुकटीलाई अवैध घोषणा गरेर त्यसमा सङ्लग्न हुनेलाई कारवाही गरेपनि ढुकुटी खेल्ने क्रम भने रोकिएको छैन ।