ल्हप्सङकर्पो व्यक्तित्व खोज श्रृङ्खलाको सुरुवात-शहिद छेज्यु वाइवा तामाङ ः व्यक्ति र व्यक्तित्व

1034 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

गोपाल फ्युबा तामाङ
Gopal fyubaपृष्ठभूमि
नेपालको इतिहास रक्तरञ्जित छ । कैयौ होनहार क्रन्तिकारीहरुले आफ्नो प्राण उत्सर्ग गरिसकेका छन् । प्रगति, उन्नति र मुक्तिका लागि अनेकौ आन्दोलनहरु भए । ती आन्दोलनहरुमा नेपाललाई माया गर्ने विभिन्न जातजातिको योद्धाहरुको सहभागिता उल्लेख्य रह्यो । २००७ सालमा प्रजातन्त्र ल्याउन होस् वा एक दलीय पञ्चायती व्यवस्था विरुद्ध होस् धेरैले शाहदत प्राप्त गरे । जनयुद्धका दौरान पनि कम भुमिपुत्रहरुको शाहदत भएको होइन । यहाँ कसले नेतृत्व गरे भन्ने प्रधान नभइ किन सहभागी भए भन्ने विषयलाई उठान गर्ने उद्धेश्य रहेको छ ।
सन्दर्भ
तामाङ लेखक अमृत योञ्जनले ओझेलमा तामाङ शहिदहरु नामक पुस्तकमा उल्लेख गरिए अनुसार विभिन्न आन्दोलनमा शाहदत प्राप्त तामाङ शहिदहरुको विवरण निम्नानुसार उल्लेख गरिएको पाइन्छ । २००७ को जनक्रान्ति दौरान १० जना, प्रजातन्त्र पुनस्थापनाको क्रममा ३३ जना, जनआन्दोलन २ मा १ जना र जनयुद्धका क्रममा ९१९ जना ।
जनयुद्धको भने जिल्लागतरुपमा समेत विवरण राखेका छन् । त्यस बमोजिम काभ्रे १४९ जना, नुवाकोट १०१ जना, सिन्धुपाल्चोक ९६ जना, मकवानपुर ९५ जना, रामेछाप ६५ जना, सिन्धुली ४७ जना, चितवन ४१ जना, दोलखा ३८ जना, धादिङ २९ जना, संखुवासभा २३ जना, ओखलढुङ्गा २२ जना, लम्जुङ १६ जना, ललितपुर १३ जना, भोजपुर १२ जना, रसुवा १२ जना, बारा ११ जना, इलाम १० जना, पाँचथर १० जना, मोरङ ९ जना, काठमाण्डौ ९ जना, उदयपुर ८ जना, भmापा ८ जना, ताप्लेजुङ ८ जना, धनकुटा ७ जना, रौतहट ७ जना, सर्लाही ७ जना, महोत्तरी ६ जना, सुनसरी ६ जना, सोलुखुम्बु ६ जना, कञ्चनपुर ६ जना, भत्तपुर ६ जना, पर्सा ५ जना, खोटाङ ५ जना, गोर्खा ५ जना, तेह्रथुम ४ जना, सिराहा ३ जना, कैलाली २ जना, डोटी २ जना, तनहु २ जना, धनुषा २ जना, बाग्लुङ २ जना, कास्की १ जना, गुल्मी १ जना, बाँके १ जना, मुगु १ जना ।
14017973_10209372831254371_780220129_nयसरी कुल गरी ९६३ जना तामाङ सपूतहरुले राष्ट्र र जनताको नाममा प्राणको उत्सर्ग गरेका छन् । नाम समावेश नभएकाहरु पनि प्रशस्तै छन् । बेपत्ता, अपाङ्ग र पीडितको विवरण डरलाग्दो छ । यी धेरै शहिदहरु मध्येबाट यस आलेखमा प्रजातन्त्रलाई राजा महेन्द्रले अपहरण गरेपछि गरिएको आन्दोलनको क्रममा शाहदत प्राप्त गर्नु भएका शहिद छेज्यु तामाङको बारेमा यस आलेखमा समेट्ने प्रयास गरिएको छ । प्रजातन्त्र प्राप्तिको लडाइमा शाहदत पाएका शहिद छेज्यु खनियावास विद्रोहमा पनि सक्रिय सहभागी थिए ।
क्षेत्र वा स्थान
इन्द्रावति, वेत्रावति र नेत्रावति भित्रका गाउँहरुलाई ल्हप्सङकर्पो भनियो । आखिरीमा गणेश हिमालको तामाङ नाम नै ल्हप्सङकर्पो हो । ल्हप्सङकर्पोका तामाङहरु भाषा, संस्कार र संस्कृतिमा धनी छन् । मौलिक गीत, संगीत, नाच, परम्परा र सीपमा मौलिकता अझै जोगाइराखेका छन् ।
खोजको बुद्धि
सहकर्मी मित्रहरु आफ्नो जात र पुर्खालाई गाली गर्न थाल्दा मेरो मन कुडिन्थ्यो । तामाङहरुको बुद्धि, विवेक र चेतनाको खिल्ली उडाइरहदा म गम्भिर भइरहे । यहाँ गीत संगीत कला र मौलिक साहित्य मात्रै हैन राजनीतिक चेतना पनि थियो । अघिल्ला पुस्ताको योगदानको चर्चा नै नगरी आलोचना मात्रै गर्थे । त्यो जमात शिक्षा, चेतना र विकासको नाममा शिक्षित, सभ्य र विकसित भएको ठान्थे । तर पूर्खाको योगदानलाई भूल्नेहरु सभ्य होइन भन्ने लाग्थ्यो । पूर्खाको भूमिकालाई बर्तमानसँग दाँजेर कुर्लिरहदा मेरो खोज जारी रह्यो । प्रतिफल स्वरुप स्थानीय सामन्तहरुसँग विद्रोह गरेको भेटियो । कुनै वादबाट प्रेरित नभइ मौलिक वादमा आधारित आन्दोलनहरु । धान खालमै किन्ने, किर्ते तमसुक च्यात्ने । साच्चिकैको तमसुक राख्ने । थपेको शुन्य मेटाउने । आफ्नै प्रकारको युद्ध । ति सम्पूर्ण योद्धाहरुमा समर्पित भएर वर्षको एक महिना खोजमा लाग्ने बुद्धि आयो । कतिपयको असहमति बावजुत हिडियो । स्थानीय पाठ्यक्रमबारे चर्चा चलिरहदा इतिहासका ती नायकहरुबारे सम्झे । प्रश्न निर्माण गर्दा जीवनीमा घुसाए, बोध र गद्यमा सोधे । सकारात्मक प्रतिक्रिया बढी पाए । २९ जुन २०१४ मै प्रकाशन भइसकेको शहिद छेज्यूको बारेमा थप केही भेटिए, थप केही भेटाए ।
गरिवको घर ः छोराको जन्म
तत्कालिन पश्चिम १ नं तथा हालको धादिङ जिल्ला सत्यदेवी गाविस वडा नं ६ गोम्बोङमा छेज्यु वाइवा तामाङको जन्म भयो । पिता जितराम वाइवा तामाङ र माता म्हेन्डोल्मो तामाङको कोखबाट जेठो सुपुत्रको रुपमा वि.स. १९९४ साल अषाढ १५ गते (सन् १९१७ जुन २९ तारिख) का दिन गोम्बोङ गाउँमा जन्मेका थिए ।
त्यसबेलाको तामाङ परिवार अति दयनीय अवस्थामा थियो । पिता जितराम तामाङ ब्रिटिस सेना भएकाले तुलनात्मक रुपमा केही सहज जीवनयापन भएता पनि समग्रमा असहज नै थियो । खान लाउन मै ध्यान हुन्थ्यो ।
किशोरवय ः अभावको जीवन
तत्कालिन अवस्थामा त्यस क्षेत्रका काजी, मेजर र द्वार उपाधि प्राप्त जातिका ज्यादति थियो । उनीहरुको बिर्ता भएको हुँदा निशुल्क श्रम गर्नुपर्ने नियम थियो । स्थानीय सामन्तीहरुले अन्य जाति माथि क्रूर अमानवीय दमन र शोषण गरिरहेका थिए । यहाँ सम्मकी तमसुकको भाखा नाघेका सुन्य थप्ने गरिन्थ्यो भन्ने लोकोक्ति अझै प्रचलनमा रहेको छ । किशोर छेज्युको सबैभन्दा ठूलो इच्छा नै पेटभरी खाने र राम्रो लाउने चाहनामा बित्यो ।
युवावय ः आन्दोलित मन
छेज्युका बुबा भारतमा ब्रिटिसको सेवा गर्दथे । विभिन्न युद्धका मोर्चाहरु सम्हालेर, ज्यानको बाजी लगाएर ल्याएको पैसामा सामन्तहरु व्याजरुपी गिद्दे नजर गाड्थे । जति नै ल्याएर दिए पनि व्याज, स्याज हिसाव गर्दा सावा बढ्दै पो जान्थ्यो । हरेक जसो घरका कम्तीमा एकजना उनीहरुको घरमा बाधा÷ठाडे हली बस्न विवस थिए । यसले छेज्युको मन कुडियो । विवशतामा कतिन्जेल बाँच्ने भन्ने मनसायले साँहुका क्रृण तिर्न र पारिवारिक मुक्तिको लागि एक नवयुवा बुबाको पछिपछि लागि ब्रिटिसको सेवा गर्ने लडाकुको रुपमा भारत गए ।
विवसताको मानु ः भारतमा ब्रिटिसको सेवा
त्यहाँ द्दलमरडतज न्च् यानेकी दोस्रो आठौं गोरखा राइफलमा ८६३४४ नम्बरी भइ भर्ती भए । सेनामा प्रवेश गरी ब्रिटिसहरुको लागि दोस्रो विश्वयुद्धका कैयौ युद्ध मोर्चाहरु सम्हाले । त्यस कार्यबाट ब्रिटिस सरकार प्रसन्न भई कैयौ बहादुरीका तक्माहरुद्वारा विभूषित समेत भए । साहुँलाई व्याज, स्याज र सावा तिर्दै कर्जा शुन्य भए । नेपालमा राणा सरकार हटी प्रजातन्त्र आए । आफ्नो देश, जनता र आफन्तहरु तबसम्म पनि सामन्ती व्यवस्थाले पिरोली रहेको थियो । गाउले अझै सामन्ती व्यवस्थाको शिकार भइरहेको थियो । सामन्तीको घरमा घरखेत छाड्न राजीखुसी भएको तमसुक थियो । धेरैको कुनै न कुनै बहानामा घरखेत बन्धकी परिसकेको थियो । दुनिया दुःखमा रहेको बेला आफू अर्कै देशको रक्षार्थ बन्दुक बोकिरहेको अवस्था चित्त नबुझी उनले लाहुरे जीवन छाडिदिए र आफ्नो मातृभूमीमा फर्के ।
लाहुरको जीवन ः चेतनाको बत्ती
ब्रिटिस साम्राज्यको लागि लडेका सेनाहरुलाई भारतले जिम्मा लिए र आफ्नो सेना बनाए । ५७३१९८९ नंबरका भारतीय सेना बन्दा सम्ममा राष्ट्र र राष्ट्रियताको राम्रो पाठ छेज्युले पनि पाइसकेका थिए । भारतीय स्वतन्त्रता संग्रामलाई नजिकबाट नियालेका उनमा राष्ट्रियताको भावना जाग्यो । सन् १९५५ ताका नै वि.पि. कोइरालाले नेतृत्व गरेको नेपालमा आधारित प्रजातान्त्रिक समाजवादी व्यवस्थाका जस्को जोत, उसको पोत, श्रमिकको अधिकार स्थापना, विर्ता उन्मुलन र राजारजौटा उन्मुलन लगायतका नारा, नीति तथा कार्यक्रमले उनलाई आकर्षित तुल्याएका थिए । दार्खाका पुरुषोत्तम सिंखडा त्यतिखेर तुलसी गिरी निकट रही कांग्रेस राजनीतिमा थिए । छेज्यू उनको निकट पुगेर राजनीति बुझे । देशमा प्रजातान्त्रिक शासन सुरु भएता पनि सत्यदेवी र आसपासका गाउँहरुमा तमसुक आतङ्क जीवित थियो । राष्ट्रिय, अन्तराष्ट्रिय र स्थानीय परिवेशलाई नजिकबाट नियालेपछि उनमा मुक्तिको लागि लड्ने चेतना आयो । शुरुमा स्थानीय, दोस्रोमा राष्टिय र तेस्रोमा अन्तराष्टिय सामन्तको घेरो रहेको बुझे । सो चेतनाको बत्ती बाल्ने मौका ब्रिटिसको सेवा गर्दा लाहुरमै पाएको थियो ।
सर्वसाधरणको विद्रोह ः किसान आन्दोलन
स्थानीय सामन्तहरुको उत्पिडन, अन्याय र अत्याचारले दार्खा, सत्यदेवी, मार्पाक र किम्ताङ आदिसम्मका जनताहरु उकुसमुकुसमा थिए । गाउँमै रहेकाहरुमा स्थानीय सामन्तलाई चिढाउनु आफ्नो अन्त्य ठान्दथे । तर ब्रिटिसलाई भारतबाट धपाएको र राणाहरुलाई नेपाली जनताले पराश्त गरेको देखेका लाहुरेहरुमा स्थानीय सामन्तको पनि अन्त्यको घण्टी बजेको महसुस गर्थे । त्यसको लागि बिर्ता उन्मुलन हुन पर्दथ्यो । कम्तीमा ९० दिन निशुल्क श्रम गर्न पर्दैन भन्ने हेक्का छेज्युमा थियो । २०१२ सालमा भर्तीबाट फर्केपछि अभद्र अवज्ञामा लाग्न उत्प्रेरित गर्न थाले ।
झारा, पर्ममा बोलाउदा नजाने गर्न थाले । विस्तारै एक दुई अवज्ञा हुन थाल्यो । आफ्नो अनुकुलमा मात्र काम गर्न जाने भए । यस कार्यबाट स्थानीय सामन्तहरु क्रुद्ध बने । तब विभिन्न किसिमले जाली तमसुक बनाइ फसाउने कार्य गर्न थाले । स्थानीय तामाङ समुदायमा फुटाउने चेष्टा गरे । मुखियाहरुलाई थप सुबिधा दिन थाले । यसले छेज्यूमा पनि ठूलो रोश भरिदियो । बदलाको भावनाले उनीप्रति लान्छना लगाउन थालियो । उनको परिवारलाई बोक्सी आरोप लगाइयो । उनको परिवार नै गाउँको मूलबाटोबाट हिड्न बन्देज लाग्यो ।
राजनीतिका गुरु पनि सामन्त वर्गका थिए । २०१५ को चुनावी उभार स्थानीय तहमा गोरखा परिषदको आएता पनि देशमा भने कांग्रेसले बहुमत पाएको थियो । कति विचलित नभइ कांग्रेसको पक्षमा उभिइ रहे । तैपनि स्थानीय सामन्तलाई उन्मूल पार्न उनले काजिमान तामाङ, दामन पाख्रिन, सेक्के तामाङ लगायत स्थानीयहरुसँग मिलेर सन् १९६०मा खनियावास विद्रोह गरे ।
टुक्रे सम्झौता ः डरको कारण
एक हप्ता चलेको आन्दोलनका कारण प्रहरी प्रशासन आए । सबै एकितृत भएर तत्कालिन प्रहरी प्रमुखसमेतलाई खाली हात पारि पठाइदिए । अनेक उपाय लगाइ मिलापत्र गर्ने नाममा आन्दोलनकारीको तर्फबाट काजिमान, सेक्के र दामनलाई पक्राउ गरियो । उनीहरुलाई जेलमा राखे ।
उनीहरु जेलमा परेसँगै घरघरमा श्वेत आतंक फैलायो । राज्यका निकायसँगै आएका स्थानीय सामन्तहरुले अरुको जस्तै छेज्युको घर पनि घेरा हाले । उनी घट्टमा रहेकाले भाग्न सफल भए । तिन महिनापछि सम्झौता भयो । लुटेको सामान फिर्ता दिनु पर्ने र सम्लग्न सबैले रु २०० तिर्नु पर्ने भो । आफूहरु नै दोषी भएको प्रमाणित गर्न खोज्ने राज्यको नीति र त्यसलाई सहस्र स्विकार गर्ने सहकर्मीहरुको व्यवहार क्रान्तिकारी छेज्यूलाई ठीक लागेन । उनी खनियावास विद्रोह पश्चात भूमिगत भए । थप विद्रोह गर्ने मनसायले छेज्यु तामाङ अन्य केही सहकर्मीहरु सहित सम्झौतामा नआई भारत तर्फ भागे । त्यतिबेलासम्ममा महेन्द्रले राजनीतिक कू गरी निर्दल घोषणा गरि सकेको थियो । जगत प्रकाशजंग शाह मार्फत कलकत्तामा सुवर्णशम्शेर भेटिएपछि क्रान्तिलाई पूरा गर्ने अठोट लिए । खनियावासको मात्रै हैन देशकै सामन्तलाई मार्न काट्न युद्धमा होमिए ।
राष्टिय आन्दोलन ः मुक्तिको सत्मार्ग
प्रजातान्त्रिक सरकारलाई अपदस्त गरी राजाले सत्ता हातमा लिएको कुरा सच्चा देशभक्त छेज्युलाई मन परेको थिएन । भारतमा जगत प्रकाश जङ्ग शाहसँग निकट सम्बन्धमा बसे । त्यहाँ एकतान्त्रिक निर्दलीय पञ्चायती व्यवस्थाको अन्त्य गर्न लागि परे । नेपाली काङ्ग्रेसले आह्वान गरेको सशष्त्र सङ्घर्षमा सामेल हुन पुगे । जगतप्रकाश जंग शाह त्यसबेलाका पश्चिम १ नम्बरका मुक्ति कमाण्डर थिए ।
छेज्युको जिम्मा भारतबाट हातहतियार ल्याउने र दुर्गम गाउँ तथा जिल्लामा पुर्याउने पर्यो । उनले हातहतियारलाई शहिद सिङ्गमान तामाङको सहयोगमा नुवाकोटको चेक्मा, छोखङ लगायतका ठाउँमा लुकाएर राख्ने गर्दथ्यो ।
सोही क्रममा सहयोगी काजिमान तामाङ सेनाको कब्जामा पर्यो । उनको नाम नुवाकोट प्रशासन सम्म पुग्यो । उनलाई मोस्ट वान्टेडमा राखी खोजि गरे । तब उनी धादिङ सत्यदेवीको ओडारमा लुकि बसे । उनलाई राज्य विप्लपको मुद्धा लागेको थियो । त्यस्तै अराष्टिय तत्व घोषणा गरी देख्नसाथ गोली ठोक्ने आदेश थियो । सन् १९६१मा शाही सेनाले उनको घर खानतलासी लिए । घरका सामान लथालिङ्ग पारे । भाग्दै भाग्दै नरकटियागञ्जमा बखानसिंह गुरुङले नेतृत्व गरेको नेपाली काङ्ग्रेसको आधार शिविरमा पुगें । पछि कलकत्ता पुगे । उनीसँगै गएकी कान्छी श्रीमतिलाई फर्काइयो । छेज्यु र उनका साथीहरु भने राज्य कब्जा गर्ने नेपाली कांग्रेसको तत्कालिन नीति बमोजिम शशष्त्र युद्धमा होमिए ।
राष्टिय मुक्तिको लडाइ ः वीरताको निशानी
छेज्यु जतिसक्दो चाडो देशलाई सामन्तीको कब्जाबाट मुक्त गराउन चहान्थे । स्थानीय सामन्त नास्ने यो उत्तम उपाय थियो । उनलाई युद्ध लड्दा जितिन्छ भन्ने आत्मविश्वास थियो । कैयौ युद्धमोर्चामा सहभागी उनलाई युद्ध लड्नु सामान्य जस्तै लाग्थ्यो । राज्यमा बहुदलीय प्रजातान्त्रिक ब्यवस्था ल्याउने र स्थानीय सामन्तलाई टाउको उठाउन नदिने सोच बन्यो । स्वतन्त्र मूलुकको स्वाभिमान नागरिक भएर जिउने उत्कट अभिलाषाले कुत्कुत्यायो । त्यसैले कलकत्तामा आफु जस्तै १८ जना साथीहरु जम्मा गरी सल्लाह गरे । सहमति भएपछि लडाकुहरुको नेतृत्व गरी ठोरीमा शाही सेनासँग लडेर पुलिस चौकीमा अधिकार जमाउदै चितवन पुगें । सूर्यमणि अधिकारीले नेपाली कांग्रेसको इतिहासमा उल्लेख गर्नु भए अनुसार चितवन आक्रमणका योजनाकार योगप्रसाद उपाध्याय थिए । उनका योजना मुताविक वि. स. २०१८ माघ २४ गते देखि आक्रमण थालनी गरेर माघ २६ गते चितवनमाथि मुक्तिसेनाले कब्जा जमायो । तर माघ २८ पछि फेरि षड्यन्त्रपूर्वक चितवन शाही सेनाले कब्जामा लियो । जगत प्रकाश जङ्ग लगायतका पाँच जनालाई बाँधेर टिकौलीको जङ्गलमा मारियो । छेज्यु लगायत अन्य भने भाग्न सफल भए ।
राज्य विप्लपको मुद्धा ः छिन्नभिन्न परिवार
छेज्युको भाइ बेपत्ता थिए । जेठो छोरोलाई पनि राज्य विप्लपको मुद्धाको सुचना टासिए पछि उनका बुबा मुमा रोएरै दिन बिताउथे । बुढेसकालको सहारा दुबै छोरा सम्पर्कमा नहुँदा कुन अभिभावकको मन कुँडिदैन र ?
छेज्युसँगै भागेका उनकी कान्छी श्रीमति नुवाकोट अड्डामा तारिख धाउदै थिए । गरिवीले जगडिएको जिन्दगीमा तारिख पनि धाउनु र प्रत्यक पटक धम्की पाउनु सामान्य कुरा थिएन । पटक पटक सम्झौतामा आउन र पञ्चायतको समर्थनमा आउन खबर पठाउथे । अहँ छेज्यू बढिसकेको पाइला पछाडि हटाउनेवाला थिएन । अन्ततः राज्य विप्लपको मुद्धा लगाइ सर्वस्वहरणको फैसला भो । उनको मात्रै पार्न सबैले अलग अलग अंश लगाए । अन्ततः परिवार पनि छिन्न भिन्न भो ।
सर्वस्वहरण ः बल्झिएको पीडा
छेज्युको सर्वस्वहरणको प्रत्यक्ष मार उनको परिवारले भोग्नु पर्यो । आस गरेको पेन्सन पनि रोक्का भइसकेको थियो । कलिलो बालबालिका (चार छोरी र दुई छोरा) सहित सात परिवार कसरी बाँचे होलान् ? सामान्य अनुमान लगाउन सकिन्छ । एक दिनको निमेकमा मुस्किलले चार माना ननिफनेको कोदो पाउदथ्यो । यसमा पनि वदला, हेला र अपमान मिसिएको हुन्थ्यो । रातभर जाग्राम भइ रुन्थे दिनभर काम गर्थे । जीवनमा त्यो भन्दा पीडा कहाँ होला र ? एउटा आमा हुनु नारी हुनुभन्दा धेरै माथिको कुरा हो । सामान्य मान्छे हुनु धेरै सरल हो ।
खरानी भएपनि लानु पर्ने सरकारी नियम बमोजिम लगे । घरभरको सामान कतिबेला सकियो थाहा नै भएन । बाइस हाते घर ४ भाग लाग्यो । एक भाग कान्छो भाईको, एक भाग जिउनी, एक भाग कान्छिलाई र एक भाग जेठीलाई । त्यसमा पनि स्थानीय सामन्तहरुले बस्न दिएनन् । मान्छेलाई बस्न नदिएर सिस्नु घारी बनाइयो । खोले फाडो पनि खान नपाएको पीडादायी जीन्दगीको हामी कल्पना मात्र गर्न सक्छौ । अहिले विचरा मात्र भन्न सक्छौ । देश र जनताको मुक्तिको लागि कति पीडा बोके हुनन् । घरको अभिभावक नहुँदा पढ्नलेख्नबाट बञ्चित ती केटाकेटीले के सोचे होलान् ? ३४ वर्षे जवानीमै के आशले घर कुरे हुनन् ?
क्रुरताको शिकार ः मध्य मार्गमै शाहदत
चितवन रेड असफल भएपछि मुक्तिसेनाका लडाकुहरु तितरवितर भाँगे । छेज्यु पनि भाँगेर पर्सातर्फ लागे । बाटोमा पर्ने विभिन्न पोष्टहरुमा आक्रमण गर्दै भाग्दै गर्दा पर्साको रानीगञ्जमा शाही सेनाको टोलीसँग भिडन्त भो । भिडन्तमा तुलबहादुर तामाङलाई गोली लागे पछि जोगाएर भाग्न खोज्दा दुबैलाई भेट्टाइ मारिदिए । र टाउकोको फुटबल मध्य बाटोमै खेले । सँगै रहेका सत्तलसिङ भाग्न सफल भएका थिए । यसरी नेपाली जनताको मुक्ति र स्वतन्त्रताका खातिर अन्तिम समयसम्म लडाइ लडि रहें । देश र जनताको मुक्तिको लागि आफ्नो प्राणको वलिदान दिनु भएका छेज्यु तामाङको शाहदत वि.स.२०१८साल अषाढ १५गते (सन् १९६२ जुन २९ तारिख) भयो ।
सत्ताको मस्ती ः भुलिसकेको इतिहास
छेज्यु लगायतका योद्धाहरुको मृत्युले प्रजातन्त्र, समानता र स्वतन्त्रताको लडाईमा अपूरणीय क्षति बेहोर्नु परेको छ । पहिलो चरणको युद्धका योद्धाहरुको दुःखत अन्त्यसँगै केन्द्रिय नेतृत्वलाई ठूलो धक्का महसुुस भयो । अनि पूर्वमा केन्द्रित भए । एकिकृत युद्धमा लागे ।
त्यस ताका कांग्रेस छिन्नभिन्न भए । वि.पि. लगायतका नेताहरु जेलमा, अन्य भूमिगत हुँदा र प्रतिबन्धित अवस्थामा संगठन गर्न कठिन पक्कै थियो । मेलमिलापको नीतिसँगै निर्वासित नेताहरु बहुदलको पक्षमा भोट मागेदेखि सहज अवस्थामा आए तर शहिद परिवारको वास्तै भएन । धेरैपटक सहकर्मी वा अझ पछिल्लाहरुले सत्ता र कुर्सीमा बसी मस्ती गरिए पनि ती शहिदहरुलाई भने सामान्य मान्छे मरे बराबर मात्र माने ।
२०४६ पछि गठित शहिद पहिचान गर्ने आयोगमा छेज्युको नाम परेपछि भने राहतस्वरुप रु १,००,००० दिइयो । नेपाली काङ्ग्रेस, चितवन जिल्ला कार्य समितिले वि.स. २०४७ जेठ १ गते अभिनन्दन पत्र प्रदान गर्यो ।
युवाको काँधमा ः जिम्मेवारीको चाङ
अहिले नेपाल संघीय गणतान्त्रिक मुलुक भएको छ । छेज्युहरुले खोजेका बहुदल आएर संविधान सभाबाट संविधान पनि जारी गरि सकेको छ । यस्तो अवस्थामा पनि ती वीर अमर शहिदहरुको कुर्वानीलाई मनन गर्न नसकिरहेको देखिन्छ । उनीहरुको स्वार्थ त्याग, बलिदानलाई सम्झनु आवश्यक छ र सम्मानको खातिर थप अध्ययन र अनुसन्धान गर्नु आवश्यक छ । प्रतिवेदन पेश गर्नु पर्दछ ।
यी सबै काम अब नव पुस्ताले लिनै पर्दछ । पूरानो पुस्ताको त्याग र वलिदानको सम्मानमा उनीहरुको योगदानको चर्चा गरिनै पर्दछ । उनीहरुको त्यागबिना हाम्रो मुक्ति सम्भव थिएन । यो बुझ्नुपर्ने कुरा हो ।
अपहेलनामा जीवन ः शहिदका सन्तानको विचल्ती
छेज्यु घरबाट भागेको १० वर्ष हुँदा पनि फर्किएन । नफर्किए पछि सोधिखोजिको लागि बहादुर घले (रख्ली), तुलबहादुर तामाङ, र छेज्यु तामाङका धर्मपत्नीहरु कलकत्ता पुगेर सोधिखोजी गर्दा पो बहादुर घले भेटिए भने अन्य दुई शहिद भइसकेको जानकारी पाए । यो खबर गाउँमा हल्ला भो । देखिस् के हुँदो रैछ ? भन्दै अरुलाई कुरा गर्ने राम्रो मसला बन्यो । तर शहिदको घरमा क्रिया गर्ने खर्च पनि थिएन ।
अब हुँदा नहुँदा मानिसहरु छेज्युले ऋण लगेको भन्दै माग्न थाले । एक्ली विधवीले के पो गर्नु सन्तान स्यहार्नु की ऋण तिर्नु ? सरल र सजिलो काम नपाउने कठिन र जोखिमका काम मात्र पाउने भए पछि त्यै भए पनि गरेर पेट पाल्दथे ।
दुःखकै बेला घरमा आगलागी भो । अरुको समेत घर डढ्यो । तितेपातीले घेकेर एक कुटी बनाउन पनि ज्वाइ नै बोलाउनु पर्यो । गाउले रमिता मात्र हेर्थे । कांग्रेस हुनुको पीडा । प्रजातन्त्रमा लाग्नुको पीडा । मुक्ती सेना हुनुको पीडा । स्थानीय सामन्तीको जयगान नगर्नुको पीडा । पञ्चायत समर्थक नहुनुको पीडा । शहिद परिवारले पीडाहरु भोग्दै गए ।
त्यसबेला बालक शहिदपुत्र रसुवामा राहत पाइन्छ भनेर मास्टरहरु सँग लागे । बाटोभरी भाडा माझ्ने, राहत पाए तिर्ने नपाए त्यतिकै भन्ने शर्तमा रसुवा पुगे । बालकको मायाले वा केही तत्कालिन रसुवा सिडियोले रु ३०० हातैमा थामिदिए ।
केही प्रयास ः केही योजना
२०४६ को जनआन्दोलन सफल भएपछि शहिद छेज्यु युवा क्लव गठन गरे सत्यदेवीका युवाहरुले । नाममा ब्यक्तिगत भयो भन्ने आरोप सँगै क्लबले निरन्तरता पाउन सकेन । अब शहिद छेज्यु स्मृति प्रतिष्ठानको गठन गरी संस्थागत रुपमा लाग्न सके बढी व्यवस्थित हुन्छ । अबको एक वर्षपछि २०७४ अषाढ १५ वहाँको सयौं जन्मसाल हुने रहेछ । त्यसको उपलक्ष्यमा शतवार्षिक मनाउने र गतिलो खोजमूलक स्मारिका प्रकाशन गर्न सके धेरै धन्य हुने थियो ।
सत्कर्मको दायित्व ः निर्वाहमा नव पुस्ता
नवपुस्ता शतवार्षिकी मनाउन तयार छ । छेज्यु लगायत अन्य शहिद तथा योद्धाहरुको अथक, परिश्रम, मिहिनेत, योगदान र वलिदानीले गर्दा नै हामी सहज स्वास फेरिरहन पाएका छौ । अविचलित ती पाइलाहरुको सम्मानमा कार्यक्रम गर्न अबको पुस्ता तयार हुनै पर्दछ ।
ती सत्कर्मका पाइलाहरु नचालेका भए हामी अझै कठीन दुर्दिनहरु भोगिरहेका हुन्थ्यौ सायद । त्यसैले योद्धाहरुको सत्कार्यको प्रशंशा, चर्चा र प्रचार प्रसार गरिनु पर्दछ । विद्यालय र विश्वविद्यालयका नव पुस्ताहरु एक जुट भई वहाँहरुको योगदान र सत्कार्यको प्रचार गरिनै पर्दछ । त्यसैले उठौ यो अभियानमा । म लागि सकेको छु । तपाई पनि हातेमालो गर्न आउनुस ।
अपेक्षा ः सहयोग र सद्भावको
संसदीय व्यवस्था अन्त्य तथा विपी कोइराला नेतृत्वको सरकार अपदस्त हुनाका कारणहरु मध्ये एक कारण पश्चिम एक नं (लुटपीट) काण्डमा उब्जिएको अशान्ति पनि थियो । तर उल्लेखित काण्डबारे इतिहासमा गज्जबसँग चर्चा गरिएको पाइदैन । हाम्रा स्रोतहरु कम छन् त्यसैले स्रोतबारे खबर पाउँ भन्ने अपेक्षा नै प्रमुख हो ।
इतिहास र राजनीतिका विद्यार्थीहरुले खोजको विषय बनाउन सके प्राज्ञिक रुपमा अगाडि बढ्थे । राजनीतिक दलका नेताहरुले वीर शहिदहरुको भागवण्डा नगरी सम्मान गरिदिए, सरकारी निकायले पनि यस प्रकारका योद्धाहरुको नाममा वर्षेणी थोरै नै सही वजेट उपलब्ध गराउन पहल हुन्थ्यो । अन्य सामाजिक संघ संस्था र अभियन्ताहरुले वीर योद्धाहरुको बारे आफ्ना मुखपत्रहरुमा स्थान दिए राम्रो हुन्थ्यो । पत्रपत्रिकाका सम्पादक तथा पत्रकारहरुले थप खोजमूलक आलेखहरु खोजेर प्रकाशन गरिए ठीक हुन्थ्यो । विद्यालयमा स्थानीय विषयहरु, जीवनीहरु तथा स्मरणीय कथाहरु पढाउदा योद्धाहरु पढाउन सकिन्छ । सामाजिक विषयमा परियोजना कार्यको विषय बनाउन पनि सकिन्छ । गीत, संगीत, चलचित्र, भिडियो र वृत्तचित्रहरुमा पनि पार्न सकिन्छ । कथा, कविता, निवन्ध जस्ता साहित्यिक विषय बनाउन सकिन्छ ।
राज्य नियन्त्रित इतिहासले गरेको विभेदलाई चिर्नु पर्दछ । आफु अनुकुलको घटनालाई मात्र उल्लेख गर्नु सरासर योद्धाहरुप्रतिको अपमान हो । यस प्रति सचेत हुन र बनाउन जरुरी छ । यी अपेक्षा, सहयोग र सद्भावमा सार्थक विचार हुनेमा विश्वस्त छु ।
योद्धाहरुको सम्मान ः हाम्रो अभियान
हामी बाँचेको दिनको महिमा गान गर्छौ । यो दिन आउनुमा पुर्खाहरुको योगदान अविश्मरणीय छ र बनाउनु पर्दछ । त्यसैले योद्धाहरुको सम्मान गर्नु यो अभियानको अभिष्ट हो । अन्य व्यक्तित्वहरुको पनि क्रमशः खोज गरिदै जानेछ ।
(२०४० सालमा दार्खा ब्युर्चेतमा जन्मेका लेखक फ्युबा त्रि. वि बाट लोकसाहित्यमा स्नातकोत्तर गरी तामाङ लोकसाहित्यको खोज गरिरहेका छन् । पाठ्यक्रम तथा मूल्याङ्कनमा समेत स्नातकोत्तर गरिरहेका लेखक पेशाले शिक्षक हुन् । तामाङ गाउँखाने कथा र म्हन्दङ पुस्तक समेत प्रकाशन गरिसकेका फ्युबाका विभिन्न फुटकर रचनाहरु प्रकाशित छन् । पत्रपत्रिकामा आलेख समेत लेख्ने फ्युबा पत्रकार पनि हुन् । हाल उनी ल्हप्सङकर्पो व्यक्तित्व खोज श्रृङ्खलाका संयोजक समेत हुन् । तामाङ आवाज कार्यक्रमका प्रस्तोता र म्हेन्दोमाया टिभी कार्यक्रमका स्क्रिप्ट राइटर समेत हुन् ।)
सन्दर्भ सामग्रीहरु
अधिकारी, सूर्यमणि, नेपाली कांग्रेसको इतिहासः……..
जोशी, गोबिन्दराज, शब्दचित्रमा नेपाल ः नारायणी प्रिन्टिङ एण्ड ट्रेडर्स सहकारी संस्था लि. पेज नं ११०–१२०
तामाङ, गोपाल फ्युबा, शहिद छेज्यु ः एक स्मरण(नेत्रावती साप्ताहिक),
तामाङ, गोपाल फ्युबा, शहिद छेज्युः एक स्मरण धधध।मजबमष्लनलभधक।अयm
तामाङ, बिरबहादुर(सं), सेम्जोङ सन्देश, ता. रा. मु. मो. धादिङ २०५९
देवकोटा, गृष्मराज, नेपालको राजनीतिक दर्पण, ………. पेज नं २५२
पंगेनी, भवेश्वर, पश्चिम नेपालका प्रजातान्त्रिक आन्दोलनः शोभादेवी भोलानाथ ट्रष्ट २०५३ पेज नं ४५७–४७४
पाँडे, रामकुमार, भूँडीपुराण प्रकाशन (२०५५ सातौ संस्करण) पेज नं ९७
फ्युबा, बाबुराम, तामाङ डजाङ, सयौ अङ्क
शर्मा, देवीप्रसाद, आधुनिक नेपालको इतिहास ः रत्न पुस्तक भण्डार पेज नं ३३४
श्रेष्ठ, महेश्वरलाल, चितवन स्मारिका २०५२, ने का चितवन
फ्युबा, बाबुराम, तामाङ डजाङ, सयौ अङ्क
अन्तवार्तामा सहभागि व्यक्तिहरु
गुरुङ, सत्तलसिङ(९८), योद्धा मार्पाक ३
घले, धनमाया(९६), शहिद तुलबहादुरकी धर्मपत्नी मार्पाक ३
ङर्थेन, आइतराम, सत्यदेवी
तामाङ, तेजसिङ, पूर्व गाविस सचिव, दार्खा ६
तामाङ, धनबहादुर, शहिद छेज्युका पुत्र, नेता नेका, सत्यदेवी ६
तामाङ, योगबहादुर, सभापति, नेका क्षेत्र नं १ धादिङ
तामाङ, रणबहादुर, अध्यक्ष, दामान पाख्रिन स्मृति प्रतिष्ठान
तामाङ, राजु, सत्यदेवी ३
तामाङ, रामबहादुर, दार्खा ६
तामाङ, सीतादेवी, समाजसेवी, दार्खा ६
तामाङ, सूर्य, सत्यदेवी ३
तामाङ, सूर्यमान, पोल्चेत, मार्पाक
तामाङ, हीरामाया, समाजसेवी, दार्खा ६
पाख्रिन, राजु, नेता नेका, सत्यदेवी ६
रिजाल, अर्जुन, स्रोत व्यक्ति, बच्छलादेवी मावि, सत्यदेवी ९
रिजाल, खोबहादुर, सत्यदेवी ८
रिजाल, रामेश्वर, शिक्षक, स्थानियभूमी प्रावि, सत्यदेवी
लामा, भक्त, उप सभापति, नेका धादिङ
लामा, दल, सत्यदेवी २
शाक्य, बोधिरत्न, स्थानीय वासिन्दा, त्रिशुलीबजार