टर्कीमा बन्धक आठ नेपाली फर्किए

710 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सुवास गोतामे
काठमाडौं : टर्कीमा बन्धक बनाइएका नौजनामध्ये आठ नेपाली मंगलबार स्वदेश फर्किएका छन्। एकजना भने अपहरणमुक्त भए पनि टर्कीमै छन्। दुबईबाट वैदेशिक रोजगारका लागि ग्रिस हिँडेका उनीहरू टर्कीमा बन्धक बनाइएका थिए। आठजनालाई टर्की प्रहरी र अन्तर्राष्ट्रिय आप्रवासी संघको संयुक्त प्रयासमा नेपाल फर्काइएको हो।

राजधानी आइपुग्नेमा बागलुङका दलबहादुर बुढाथोकी र तुलबहादुर घर्तीमगर, दाङका तिलकबहादुर पुन र चित्रबहादुर पुन, कास्कीका सुरेश गुरुङ, धरानका कसाङ तामाङ र मेखबहादुर छन्त्याल तथा रोल्पाका झपेन्द्र खड्का छन्।

परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय र नेपाल प्रहरीले टर्कीमा समन्वय गरे पनि उनीहरू बन्धक बनाउने समूहसँग भिडेर मुक्त भएका थिए। नेपाल फर्किएपछि महानगरीय प्रहरी अपराध महाशाखामा बुधबार भेटिएका उनीहरूले आफूहरूले पाएको पीडा प्रहरी र सञ्चारकर्मीसामु पोखे। उनीहरूका अनुसार दुबई पुगेपछि त्यहाँ मानव तस्करीमा संलग्न नेपाली नागरिक देवराज शर्मामार्फत ग्रिसमा राम्रो तलब पाइने आश्वासन पाएपछि टर्की हुँदै त्यसतर्फ हिँडेका थिए। तर टर्कीमा बंगाली, पाकिस्तानी, इरानी र अफगानी नागरिबाट बन्धक भएपछि मात्रै उनीहरूले आफूलाई शर्माले झुक्याएको थाहा पाएका थिए। उनीहरूलाई ग्रिसमा काम गर्दा एक हजार तीन सयदेखि एक हजार आठ सय युरोसम्म तलब पाउने आश्वासन दिइएको थियो।

महानगरीय प्रहरी अपराध महाशाखामा गत वैशाख ३० गते छोरा झपेन्द्रबहादुर खड्का टर्कीमा अपहरणमा परेको र उनीसँग अपहरणकारीले दुई लाख ५० हजार रुपैयाँ फिरौती मागेको बेहोरासहित उनका बाबु केशरबहादुर पुगेपछि मात्रै घटनाको अनुसन्धान सुरु भएको महाशाखाका डीएसपी शिव श्रेष्ठले बताए। महाशाखाले अनुसन्धान गर्दै जाँदा झपेन्द्र मात्रै नभएर अन्य नौजना समेत अपहरणमा परेको थाहा भएको थियो।

सुरुमा दुबईबाट १० जना हिँडे पनि भुवन भण्डारीको भने समुद्री जहाजमै मृत्यु भएको थियो। ‘हामी कराउन पनि नमिल्ने, भुवनको शव समुद्री तटमै फालेर हामीलाई लिएर हिँडे’, मुक्त भएर नेपाल फर्किएका तिलकबहादुरले भने। उनीहरूलाई दुबईबाट साउदी अरेबिया, यमन, ओमन, इरान हुँदै टर्की पु:याइएको थियो। बन्धक बनाउने गिरोहले कुटपिट गर्ने र घरपरिवारको फोन नम्बर मागेर पीडासहितको आवाज परिवारका सदस्यलाई सुनाएर फिरौती माग्ने गरेको तिलकबहादुरले बताए।

‘सुरुमा बुटवलका साथी अच्युत कँडेललाई दुबईबाट ग्रिसका लागि भनेर पठाए तर उनलाई टर्कीमै बन्धक बनाएर हामीलाई फोन गर्न लगाए। हामीले सोध्दा अच्युतले राम्रै छ भने तर उनले ज्यान मार्ने धम्कीका कारण सही जानकारी नदिएको त्यहाँ हामी पुगेपछि मात्र थाहा पायौं’, तिलकबहादुरले भने।

अर्का पीडित झपेन्द्रका अनुसार अपहरणकारीले धारिलो हतियारले घोच्ने, क्रिकेटको ब्याट आकारको काठको मुंग्राले पिटेर यातना दिएका थिए। ‘हामीलाई बन्धक बनाइएको ठाउँमा काटिएका नङ, भुइँ र भित्तामा रगतका टाटा प्रस्ट देखिन्थे’, झपेन्द्रले भने। ‘गत जेठ १५ गते बंगलादेशी नागरिकले धारिलो चक्कु तुलबहादुरको घाँटीमा तेस्र्याएका थिए। त्यत्तिकैमा तिलकबहादुरले बंगालीको टाउकोमा हिर्काएपछि ऊ ढल्यो। त्यसपछि सबै मिलेर बन्धक बनाउने गिरोहलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाइदियौं’, झपेन्द्रले भने, ‘त्यसपछि मात्र हामी मुक्त भयौं।’

बन्धकमुक्त भए पनि सोही दिन टर्की प्रहरीले उनीहरूलाई अनुसन्धानका लागि हिरासतमा राख्यो। अनुसन्धानपछि उनीहरूलाई साउन ७ गते टर्की प्रहरीले नेपाल पठाएको हो।

उनीहरूका अनुसार अपहरणकारीले चित्रबहादुरबाट ६ लाख, दलबहादुरबाट सात लाख, कसाङबाट १२ लाख, तिलकबाट २० लाख, मेखबहादुरबाट पाँच लाख, सुरेशबाट २० लाख, तुलबहादुरबाट नौ लाख, वीरबहादुरबाट नौ लाख रुपैयाँ र झपेन्द्रबाट तीन हजार दिराम लिएका थिए। उनीहरूले घरबाट समेत पैसा मगाएर बुझाएको जानकारी गराएको प्रहरी निरीक्षक दीप्ति कार्कीले बताइन्।

१० नेपाली मेक्सिकोमा पक्राउ

मेक्सिकोबाट अवैध रूपमा अमेरिका प्रवेश गर्न खोज्ने १० नेपाली पक्राउ परेका छन्। सडक मार्ग प्रयोग गरेर अमेरिका छिर्न लागेको अवस्थामा १० नेपाली पक्राउ परेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ। पक्राउ पर्ने कतिपयको हातखुट्टामा चोट लागेको थियो भने कतिपयलाई श्वासप्रश्वासमा समस्या देखिएको प्रहरीको भनाइ उद्धृत गर्दै रोयटर्सले जनाएको छ।

भारतीय दलालहरूलाई लाखौं रुपैयाँ बुझाएर उनीहरूको सहयोगमा भारतीय भूमिबाट अमेरिकाको सपना बोकेर उनीहरू त्यसतर्फ लागेका थिए। नेपालीलाई मेक्सिकोको अध्यागमनसम्बन्धी कानुनअनुसार कारबाही अघि बढाइएको छ। परराष्ट्र मन्त्रालयको कन्सुलर विभागका एक अधिकारीले यस विषयमा कुनै जानकारी नरहेको बताए।

अन्नपूर्ण पोस्ट दैनिक बाट