२५ हजार स्थायी शिक्षक नियुक्ति गरि“दै

471 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

काठमाडौं- सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ ।लामो समयदेखि अस्थायी शिक्षक संख्या बढी भएको र रिक्त स्थानमा नियुक्ति गर्न एकैपटक २५ हजारको संख्यामा स्थायी गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको हो । अस्थायी शिक्षकका लागि १५ हजार र खुला प्रतिस्पर्धातर्फ १० हजारको संख्यामा स्थायी विज्ञापन खुला गर्न मन्त्रालयले प्रक्रिया अगाडि बढाएको छ ।

शिक्षक सेवा आयोगले २०६९ सालमा शिक्षक सेवा आयोग नियमावलीमा भएको सातौं संशोधनपछि ११ वैशाख २०६३ पछि रिक्त पदका लागि १० हजार खुला र १५ हजार आन्तरिक प्रतिस्पर्धाका आधारमा विज्ञापन खुला गर्न मन्त्रालयले आठौं शिक्षा ऐन संशोधनमा समावेश गरेको सहसचिव डा. हरि लम्सालले जानकारी दिए ।

उनका अनुसार शिक्षकका विभिन्न पेसागत संस्थासँग भएको छलफलमा एक पटकका लागि अस्थायी शिक्षकलाई स्थायी हुन आन्तरिक प्रतिस्पर्धा गर्दै २०६३ अघिका अस्थायीले मात्र भाग लिन पाउने व्यवस्था कानुनी रूपमा गर्न लागिएको हो । सामुदायिक विद्यालयमा झन्डै २५ हजारभन्दा बढी स्थायी शिक्षक तत्कालका लागि तीनै तहमा आवश्यक पर्ने छ ।

विज्ञापन एकै पटक खुला गर्न ऐनमै संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ । उसले संशोधनका लागि व्यवस्थापिका संसद्मा पेस गर्न लागेको ऐनमा शिक्षक विज्ञापनको विषयमा समेत उल्लेख गर्ने छ ।

मन्त्रालय र शिक्षकका पेसागत संस्थाबीच अस्थायी शिक्षकलाई एक पटक स्थायी गर्न आन्तरिक विज्ञापन गर्ने सहमतिका आधारमा ऐनमा समावेश गरिएको हो ।

मुलुकभरका सामुदायिक विद्यालयमा ‘स्थायी शिक्षक आवश्यक रहेको’ भन्दै सम्पूर्ण जिल्ला शिक्षा कार्यालयले माग गरेको विषयगत शिक्षकका आधारमा स्थायी गर्न विज्ञापन खुला गर्न शिक्षक सेवा आयोगले तथ्यांक माग गर्दै आएको सहसचिव खगेन्द्र नेपाल बताउ“छन् ।

आयोगले १७ वर्षसम्म स्थायी गर्दै १२ हजार ७ सय ४३ शिक्षक कक्षा कोठामा पठाइसकेको छ । विद्यालयमा विषयगत स्थायी शिक्षक संख्या विज्ञापनमार्फत पूर्ति गर्दै लैजाने योजना मन्त्रालयको छ ।

शिक्षा नियमावलीअनुसार शिक्षक सेवा आयोग प्रत्येक ६ महिनामा खुला गर्नुपर्ने व्यवस्था छ । तर, राजनीतिक विवाद, शिक्षकको पेसागत संस्थाको आन्तरिक झगडाका कारण खुल्न सकेको छैन । शिक्षक नियुक्तिका लागि पेसागत संस्थाको सहयोग र ऐन संशोधनका लागि सहमति प्रक्रिया अघि बढाइएको छ ।

मुलुकभर सामुदायिक विद्यालयको संख्या २९ हजार छ । शिक्षा मन्त्रालयको तथ्यांकअनुसार प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी १ लाख ४७ हजार स्थायी शिक्षक आवश्यक पर्छ । तर, ४५ हजारको संख्यामा मात्र स्थायी शिक्षक छन् । अब नयाँ नियुक्ति भएर जाने १२ हजार ७ सय ४३ थप हुने भएका छन् ।

सामुदायिक विद्यालयमा लामो समय स्थायी शिक्षकका लागि विज्ञापन खुला नहुँदा अस्थायी, करार, राहत, पीसीएफ, महिलालगायतका शिक्षक नियुक्ति हुँदै आएका छन् । एउटै विद्यालयमा धेरै प्रकारका शिक्षक नियुक्ति भएकाले मन्त्रालयलाई समेत शिक्षक व्यवस्थापनमा चुनौती थपिएको छ ।

यसैबीच, २० वर्ष सेवा गरेका अस्थायी शिक्षकलाई सरकारले ‘गोल्डेन ह्यान्सेक’ दिएर बिदाइ गर्ने योजना अघि बढाएको छ । लामो समयसम्म शिक्षण पेसामा अस्थायी रूपमा कार्यरत शिक्षक बिदाइका लागि ‘गोल्डेन ह्यान्सेक’ योजना मन्त्रालयले नीतिगत रूपमै अघि सारेको हो ।

अस्थायी १५ हजार कोटामा प्रतिस्पर्धा गर्न नसक्ने स्वतः ‘गोल्डेन ह्यान्सेक’बाट बिदा हुने व्यवस्था अगाडि बढाइने भएको छ । मन्त्रालयले २०४८ र २०५२ मा स्थायी शिक्षकका लागि विज्ञापन गरेको थियो । तर, दुवै समय स्थायी हुन नसकेका शिक्षकलाई ‘गोल्डेन ह्यान्सेक’बाट बिदाइ गर्नुबाहेक विकल्प नरहेका कारण ऐनमा समावेश गरिएको सहसचिव लम्साल बताउ“छन् ।

– राजधानी दैनिक बाट