घर झन् असुरक्षित

541 पटक पढिएको

प्रकाशित मिति: २०७१, २५ जेष्ठ आईतवार १५:०७

सम्पादक: Dhadingnews.com

विगत एक वर्षमा एक सय ७८ महिला तथा बालिकाको हत्या भएकोमा एक सय आठजना परिवारकै सदस्यबाट मारिएका छन् । यसको अर्थ ‘महिला घरभित्रै झन्झन् असुरक्षित हँुदै छन्’ भन्ने हो ।
मीना शर्मा
देशभर १०४औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइरहँदा २४ फागुनमा राजविराजकी एक महिलालाई परिवारकै सदस्यले हत्या गरे । प्रहरीले जेठानी र सासूलाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढायो । राजविराज नगरपालिका– ७ की २६ वर्षीया नजरना खातुनलाई शरीर जलेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पु¥यायो । शरीरको धेरैजसो भाग जलेकाले अस्पतालले नजरनालाई बचाउन सकेन । २४ फागुन राति उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको मृत्यु भयो ।
हत्या गरेकोे आशङ्कामा सासू बानो र जेठानी नूरजहालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्लाABC_WFTS_alisha_hessler_jt_131221_4x3_384 प्रहरी कार्यालय राजविराजका डीएसपी राजकुमार वैदवारले बताए । डीएसपी वैदवारका अनुसार सासू र जेठानीलाई ‘कर्तव्य ज्यान मुद्दामा’ कारबाही अगाडि बढाइएको छ । घटनास्थलमा भेटिएका कपडा, मट्टीतेलको बोतललगाएका सामान प्रहरी प्रधान कार्यालयमा परीक्षणका लागि पठाइएकोले रिपोर्ट आउन बाँकी रहेको उनले बताए । डीएसपी वैदवारका अनुसार नजरनाको हत्या सासू र जेठानीले गरेको आशङ्का गराउने केही तथ्य भेटिएका छन् । घटनास्थलबाट ५० मिटरको दूरीमा मट्टीतेल प्रयोग भएको भाँडो भेटिनु र सासू बानो र जेठानी नूरजहाको हातमा मट्टीतेलको गन्ध पाइनुले पनि हत्या उनीहरूले नै गरेको हुनसक्ने आशङ्का बलियो भएको छ । छिमेकीहरूको बयानका आधारमा पनि हत्या परिवारबाटै भएको हुन सक्ने पक्का छ । २२ महिनाकी छोरीकी आमा नजरना पाँच महिनाकी गर्भवती पनि थिइन् । नजरनाका श्रीमान गुडु अन्सारी अहिले वैदेशिक रोजगारमा साउदी अरबमा छन् । गर्भवती अवस्थामा परिवारबाट माया र सहयोग पाउने बेलामा घरकै व्यक्तिबाट मर्नुपर्ने नजरनाजस्ता धेरै नेपाली महिलाका लागि आफ्नै घर सुरक्षित देखिँदैन ।
क्रूर व्यवहार
वीरगञ्ज उपमहानगरपालिका– १९ बस्ने गायत्री कुशवाह (२१) को परिवारका सदस्यले विष खुवाएर हत्या गरेको भन्दै उनका माइती पक्षले प्रहरीमा उजुरी गरेका छन् । भनेजति दाइजो नल्याएको भन्दै लोग्ने सन्तोष कुशवाह र सासू–ससुरा मिलेर विष खुवाएर मारेको आरोप माइती पक्षको छ । २७ फागुनमा वीरगञ्जमा पत्रकार सम्मेलन गरेर मृतकका बाबु रामरूप महतोले समयमा दाइजो दिन नसकेको कारण छोरी गुमाउनुपरेको गुनासो गरे । २१ फागुनमा विष सेवनबाट बेहोस भएकी गायत्रीको उपचारको क्रममा सीमावर्ती रक्सौलको डन्कन अस्पतालमा मृत्यु भएको थियो । सन्तोष र गायत्रीको दुई वर्षअघि बिहे भएको थियो । घरपट्टिकाले चार लाख दाइजो मागे पनि तीन लाख ५० हजार मात्र दिएकाले छोरी गुमाउनुपरेको बाबु महतोको गुनासो थियो ।
दाइजोको निहुँमा होस् वा अन्य विभिन्न बहनामा प्रत्येकजसो दिन महिलामाथि हिंसा भइरहेको छ । श्रीमान्, सास–ससुरा, नन्द–आमाजूलगायत परिवारका सदस्यले दिने यातनाले महिला मात्र होइन काखमा रहेका नाबालक र गर्भमा रहेको शिशुले समेत यातना भोग्ने गरेका घटना पछिल्लो समयमा बढ्दै गएका छन् । सल्यानमा एक व्यक्तिले २६ फागुन राति श्रीमती र दुई छोरालाई जिउँदै जलाएर मार्ने प्रयास गरेको थियो । कुपिन्डेदह– २ आगरनेटाका ३२ वर्षीय ठगे कवरले श्रीमती र दुई छोरालाई घरभित्र थुनेर आगो लगाएर भागेका थिए । आगो लागेको थाहा पाएपछि दुई छोरासहित बाहिर निस्किएकी सुनिताले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि ठगेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । लामो समयदेखि यातना दिँदै आएका श्रीमान्ले मार्ने प्रयास गरेको भन्दै सुनिताले प्रहरीमा उजुरी दिएकी हुन् ।
आठ कक्षामा पढ्दापढ्दै तीन वर्षअघि वीरगञ्ज कुम्हालटोल– ६ का एक तरकारी व्यापारीसँग विवाह गरेकी पर्साको नगवा माइती भएकी १९ वर्षीया आरती साह अहिले दाइजो नल्याएको निहुँमा पटक–पटक घरपरिवारको यातना सहन बाध्य भएकी छिन् । छोरालाई आफ्नो वशमा पारेको बहाना देखाउँदै सासूले घरबाट निकालिदिएपछि काखेछोरा च्यापेर माइती पुगेकी उनलाई माइती पक्षले सम्झाइबुझाई फिर्ता पठाएको थियो । खान–लगाउन नदिने सासूले आरतीलाई चुलेसीले खुट्टामा हानेर घाउ बनाइदिएपछि उनी न्याय माग्दै प्रहरीमा पुगेकी हुन् । आरती भन्छिन्, ‘पुलिस आएर थर्काएपछि केही दिन राम्रो गरे पनि फेरि सासूले सताउन थालेकी छिन् ।’ आरती साहजस्तै परिवारकै सदस्यबाट पीडित वीरजञ्जकी पूर्णिमा साहको कथा पनि दुःखलाग्दो छ । एक वर्षअघिसम्म दाइजो नल्याएको र दुईवटी छोरी जन्माएको भन्दै कुटपिट गर्ने सासूले अब छोरा जन्मेपछि पनि यातना दिन छोडेकी छैनन् । बुहारीसँगै नातिनीलाई पनि सताउने पूर्णिमाकी सासूले अनेक बहाना बनाउँदै खानासमेत दिन्नन् । दाइजोको बहानामा होस् वा छोरा नजन्माउँदाको यस्ता अनेक बहानामा महिलाले प्रत्येक दिनजसो भोग्नुपर्ने यातनाका कथा निकै दर्दनाक छन् ।
राष्ट्रिय महिला आयोगकी प्रवक्ता मोहना अन्सारीका अनुसार विवाह गरेर बुहारी भित्र्याउने रहर भए पनि छोरामाथिको अधिकार कायमै राख्ने चाहनाले गर्दा सासूले बुहारीमाथि गर्ने ज्यादतीमा कमी आउन नसकेको हो । आयस्रोतको कमी र एकजना पुरुषमा पूरै परिवार निर्भर हुनाले पनि घरेलु हिंसामा कमी आउन नसकेको उनको भनाइ छ । कानुन कार्यान्वयनको चुनौती र दण्डहीनताको वृद्धि हुँदा त्यसको प्रत्यक्ष मारमा महिला परेको भन्दै अन्सारीले भनिन्, ‘कतिपय ठाउँमा हत्यालाई आत्महत्यामा बदलिदिँदा पनि परिवारको मनोबल बढेको छ ।’
मानसिक अस्पताल लगनखेलका पूर्वनिर्देशक तथा वरिष्ठ मनोविज्ञ डा. कपिलदेव उपाध्यायका अनुसार सानैदेखि हिंसाको सिकार भएका र त्यस्तैखालको वातावरणमा हुर्किएका बालबालिकामा पछिसम्म पनि मनोवैज्ञानिक असर पर्दछ । यस्ता समस्या भोग्दै ठूला भएका व्यक्ति सामान्य अवस्थामा देखिए पनि मानसिक रूपमा विक्षिप्त हुन्छन् । पटक–पटक यौनहिंसा र अन्य दुव्र्यवहारमा परेका बालिकाले आफन्तको सामान्य व्यवहारमा पनि तर्सिने र शङ्का गर्ने खालको व्यवहार देखाउने हुँदा यस्ता व्यक्तिलाई बेलैमा परामर्श दिन डा. उपाध्यायको सुझाव छ ।
घरमै ज्यादती
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको महिला तथा बालिकाविरुद्ध भएका हिंसासम्बन्धी अध्ययन प्रतिवेदन ०७० ले एक वर्षमा दुई हजार तीन सय ४८ महिला र १८ वर्षमुनिका सात सय बालिका गरी तीन हजार हजार ४८ जना हिंसामा परेका छन् । बहुविवाह, बलात्कार, यौनिक हिंसा, बोक्सीको आरोप वा दुव्र्यवहार, ओसारपसार, दाइजोका लागि उत्पीडन, बेचबिखनलगायतका कारण महिला पीडित हुने गरेका छन् । इन्सेकले १७ पुस ०६९ देखि १६ पुस ०७० सम्म ७५ जिल्लामा गरेको अध्ययनअनुसार एक सय ७८ महिला तथा बालिकाको हत्या भएकोमा एक सय आठजनाको परिवारको सदस्यबाट हत्या भएको छ । महिला हिंसाका घटनामध्ये सबैभन्दा धेरै घरेलु हिंसाका कारण एक हजार पाँच सय ६९ महिला पीडित भए । दुई सय १५ महिला र चार सय ६ बालिका बलात्कृत भएको पनि प्रतिवेदनमा उल्लेख छ । एक वर्षदेखि ७२ वर्षसम्मका महिला बलात्कारबाट पीडित भएका छन् । महिला तथा बालिकाको हत्याका घटना हेर्दा पनि कहालीलाग्दो छ । एक वर्षमा कुटपिटबाट ५८, विष खुवाएर ११, झुन्ड्याएर १४, धारिलो हतियार प्रयोगबाट ४८, ढुङ्गाले किचेर पाँचजनाको हत्या भएको छ । त्यसैगरी बलात्कारपछि हत्या ६, आगो लगाएर चार, हत्याको प्रकृति नखुलेको पाँच, भीरबाट खसालेर एक, घाँटी रेटेर एक, घाँटी थिचेर ११, घन प्रहारबाट दुई, खुकुरी प्रहारबाट सात र लट्ठी प्रहारबाट पाँचजना गरी एक सय ७८ जना महिलाको हत्या भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
हिंसाका प्रकृति फरक–फरक देखिए पनि महिलामाथि हुने ज्यादती कम नभएको कुरा यो तथ्याङ्कले देखाउँछ । वर्षभर दुई हजार तीन सय ४८ महिला पीडित हुनु भनेको अहिले पनि महिला स्वतन्त्र रूपमा बाँच्न पाएका छैनन् भन्ने कुराको सङ्केत हो ।
(सञ्चारिका फिचर सेवा)
(मीना हिमाल खबरपत्रिकाकी संवाददता हुन्)



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, २५ जेष्ठ आईतवार १५:०७ मा प्रकाशित