गोरखादेखि काठमाडौँसम्म ‘एकीकरण पदयात्रा’ सुरु

1130 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ– पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर नेपाली सेनाले गोरखादेखि काठमाडौँसम्मको सप्ताहव्यापी ‘एकीकरण पदयात्रा’ सुरु गरेको छ ।

मंगलबार बिहान ८ बजे गोरखा दरबारको हनुमान भन्ज्याङबाट ‘एकीकरण पदयात्रा’ सुरु भएको हो । नेपाली सेनाका सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोलीले मंगलबार बिहान गोरखा दरबारको हनुमान भञ्ज्याङबाट पद यात्रा सुरु गरेको हो ।

     यात्रामा सहभागी टोलीलाई मंगलबार विहान ८ वजे नेपाली सेनाको पश्चिम पृतनापति, उपरथी बिनय विक्रम राणा र गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले संयुक्त रुपमा टर्च, नेपालको झण्डा र नेपाली सेनाका प्रथम छ कम्पनी (श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्द बहादुर र सबुज) का झण्डा हस्तान्तरण गर्नुका साथै टोलीलाई टिका लगाएर विदाई गरेका थिए ।

     पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर गत बर्षबाट गोरखादेखि काठमाडौँसम्म पृथ्वीनाराण शाहको विजय अभियानको दौरानमा तत्कालिन गोर्खाली सेनाद्वारा प्रयोग भएका मार्गहरुलाई समेटेर ‘एकीकरण पदयात्रा’ गर्न थालिएको हो ।  

     ‘एकीकरण पदयात्रा’ मा गोरखास्थित रणसिंह दल गण, शार्दूलजंग गुल्म, धादिङको देवीदत्त गण र नुवाकोटको जबरजंग गणका सेनाहरु सामेल रहनेछन् ।

     पृथ्वीनारायण शाहले नेपाल एकीकरणका क्रममा प्रयोग गरेका मार्गहरु गोरखाको दरबार जोरचौतारी, ताप्ले, अश्राङ, बोर्लाङ, बोर्लाङघाट हुंदै टोली धादिङ प्रवेश गर्नेछ । टोलीले धादिङको कछारगाउँ,सल्यानटारको कोषढुङगा, रानिपौवा, कालोढुङगा, खहरे,चरङगे पौवा, चरङ्गे, कटुन्जे, पन्ध्रकोषे, थर्पु हुँदै भ¥याङभुरुङ सम्मको करिब ३५ किलोमिटर दुरी पार गरी नुवाकोट प्रवेश गर्नेछ ।

 नुवाकोट हुँदै ‘एकीकरण पदयात्रा’का सेनाहरु आगामी पुस २६ गते काठमाडौँ पुग्ने र २७ गते हनुमान ढोकामा हुने राष्ट्रिय एकता दिवस कार्यक्रममा सहभागी हुने नेपाली सेनाले जनाएको छ ।