एमाओवादीको आक्रमणबाट एमाले र काङ्ग्रेस कार्यकर्ता घाइते

600 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ । एमालेले पृथ्वीराजमार्गमा निकालेको र्‍यालीमा एमाओवादी कार्यकर्ताले कात्तिक २९ गते दिउँसो आक्रमण गर्दा सात जना एमाले कार्यकर्ता घाइते भएका छन् ।
एमालेको र्‍यालीमा धुषा गाविस-१ चरौँदीमा पुगेपछि आक्रमण गरिएको थियो । आक्रमणबाट महादेवस्थान गाविस-५ निवासी २१ वर्षीय रामेश्वर रावल, बेनिघाट गाविस-३ का २६ वर्षीय सुरेन्द्र श्रेष्ठ, बैरेनी गाविस-८ का २४ वर्षीया बिमला घिमिरे, गजुरी गाविस-२ का २५ वर्षीय आयुष तामाङ, पिडा गाविस-२ का २५ वर्षीय गोकर्ण न्यौपाने, बेनिघाटका विशाल श्रेष्ठ र सोही गाविस-२ का ५० वर्षीय चुलबहादुर ठकुरी रहेका छन् ।
घाइतेहरूको मलेखुस्थित राजमार्ग सामुदायिक अस्पताल र बेनिघाट स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । सडकमाथि बसेर ढुङ्गा र लाठी हानेपछि एमाओवादी कार्यकर्ता भागेका थिए ।
यसैगरी, पोस्टर च्यातेको निहुँमा विवाद हुँदा कात्तिक २८ गते राति एमाओवादी कार्यकर्ताको आक्रमणबाट काङ्ग्रेस कार्यकर्ता घाइते भएका छन् ।
एमाओवादी कार्यकर्ताले काङ्ग्रेसका पोस्टर च्यातेको विषयमा भएको विवादपछि लठ्ठी र रडले प्रहार गर्दा खाल्टे गाविस-९ काउलेछाप निवासी २६ वर्षीय सोमलाल तामाङ गम्भीर घाइते भएका हुन् ।
खाल्टे गाविस-८ कुसुन्दामा घटना भएपछि स्थानीयले घाइतेको उद्धार गरी जिल्ला अस्पताल पुर्‍याएका थिए । घाइतेको टाउको र दाहिले हातमा चोट लागेको छ । घटनाका सम्बन्धमा संलग्न भएकोले कारबाहीको माग गर्दै पीडित तामाङले दुई जना काङ्ग्रेस कार्यकर्ता विरुद्ध जाहेरी दिएका छन् । पीडकहरूलाई प्रहरीले गिरफ्तार गरेको छैन इन्सेक अनलाईनले खबर लेखेको छ ।