कुटपिटका घट्ना बढ्न थाले

690 पटक पढिएको

सम्पादक: Dhadingnews.com

injured

 

कुलचन्द्र न्यौपानेघनश्याम खड्का
धादिङ, मंसिर १ – एमाओवादी क्षेत्र नं. २ की उम्मेदवार कल्पना धमलाले शुक्रबार बिहान ११ बजे आफ्नै पार्टी कार्यालयमा आफ्नो पक्षबाट कांग्रेस/एमाले कार्यकर्तामाथि थप्पड नहानेको हामीसँग दाबी गरिन् ।

त्यसको एक घन्टा बित्न नपाउदै चरौदीमा वाईसीएल आक्रमणबाट एमालेका ६ कार्यकर्ता घाइते भएको समाचार जिल्लाभर सनसनी छायो । अहिले घाइतेहरूको उपचार मलेखु अस्पतालमा भइरहेको छ ।

चरौदीमा झडप हुनुअघि बिहानै धमलाकै निर्वाचन क्षेत्रको कुशण्डमा स्थानीय कांग्रेस कार्यकर्ता सोमलाल तामाङ एमाओवादी कार्यकर्ताको कुटाइबाट घाइते भए । शुक्रबार छिमेकीको १३ औं दिन काजकिरियामा सहभागी भएर फर्किरहँदा धादिङबेसीबाट झन्डै चार घन्टा उत्तर कुशण्डमा उनीमाथि आक्रमण भएको को । कुटाइले टाउको फुटेका तामाङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

दुई दिनअघि कांग्रेस कार्यकर्ताले मैदीमा स्थानीय एमाओवादीका कार्यकर्ता शिवराज श्रेष्ठलाई त्यस्तै गरी कुटे । टाउको फुटेका श्रेष्ठको पनि सदरमुकाममा उपचार हुँदैछ ।

घरदैलो कार्यक्रम सकिएर आफ्ना मतदाता संरक्षित गर्ने नाममा राजनीतिक दलहरू एकपछि अर्को बदलाव लिँदै कुटपिटमा उत्रिएका छन् । यस्ता घटनामा प्रमुख तीन दलका कार्यकर्ताकै संलग्नता छ ।

निर्वाचनको नजिकिँदै गर्दा धादिङमा यस्ता घट्ना बढ्दै जानुमा केही रणनीतिक योजनासमेत रहेको स्थानीय मतदाताको बुझाइ छ । उनीहरूका अनुसार धादिङको २ र ३ मा माओवादी, कांग्रेस र एमाले, १ मा मुख्य तीन, राप्रपासहित चार दलका उम्मेदवारबीच नै तीव्र प्रतिस्पर्धा छ । सार्वजनिक रूपमा जे भने पनि खासमा मुख्य प्रतिस्पर्धी दल चुनाव जित्नेमा ढुक्क छैनन् ।

त्यसैले विपक्षी मतदातालाई भड्काउन यस्तो गतिविधिमा लागेको उनीहरू बताउँछन् । विपक्षीको केही मत भड्काउन सके आफू विजय सहज हुने उनीहरूको ठम्याइ छ । स्वयं प्रमुख दलका नेताहरू नै एकअर्काप्रति सशंकित हुँदै आफ्ना मतदाता सुरक्षित राख्ने चुनौती रहेको स्विकार्छन । यस्ता घटना सहजै सुरक्षाकर्मी पुग्न नसक्ने दुर्गम गाउँमा बढी हुन्छन् ।

अघिल्लो संविधानसभा निर्वाचनमा तीनै क्षेत्र माओवादीले जितेको थियो । यसपालि भने उसको आधार कमजोर भएका कारण सबै क्षेत्रमा कडा प्रतिस्पर्धा देखिन्छ । राप्रपाका बुद्धिमान तामाङसमेत १ नम्बरका तामाङ बाहुल्य रहेका गाविसमा अन्य दलका उम्मेदवारको प्रभाव नपरोस् भन्ने योजना बुन्दै छन् ।

एमाओवादी क्षेत्र नं २ की उम्मेदवार धमलाले आफ्ना पार्टीका कार्यकर्ताले अहिलेसम्म हात नउठाएको दाबी गरिन् । ‘मेरो क्षेत्रमा कांग्रेस/एमालेमाथि एक थप्पड हानेको छैन । एमाओवादीले घाइते बनाएको भन्नु सरासर हतास मनस्थिति हो,’ धमालले भनिन्, ‘कांग्रेस/एमालेले गुन्डा चलाएर आतंकित बनाएका छन्, तैपनी निर्वाचन शान्तिपूर्ण बनाउने मेरो प्रयास छ ।’ उनले अघिल्लो चुनाव आफ्नो कारणले निर्वाचन शान्तिपूर्ण भएको दाबी गरिन् ।

अघिल्लो चुनावमा पनि मतदानको दिन नजिकिँदै गर्दा प्रतिस्पर्धी दलका कार्यकर्ताबीच यस्तै कुटाकुट भएको थियो । ‘यसपाला पनि खतरा बढेको देखियो,’ एमाले जिल्ला अध्यक्ष खेमप्रसाद लोहनी भन्छन्, ‘कांग्रेस र एमाओवादीबाट हामीलाई सधैँ त्रास छ ।’

कांग्रेस सभापति एवं क्षेत्र नं २ का उम्मेदवार रामनाथ अधिकारी आफूहरूले शान्तिपुर्ण चुनाव चाहेको बताए । ‘हाम्रो अवस्था राम्रो छ । यही देखेर एमाओवादी र एमालेले हाम्रा कार्यकर्तामाथि खुकुरी देखाउने, आक्रमण गर्ने काम गरिरहेका छन्’ अधिकारीले भने, ‘एमाओवादी गतिविधि डरलाग्दो छ । यसबाट बचाउन हामीलाई चुनौती छ ।’ एमालेका लोहनी भने एमाओवादीबाट मतदातालाई गाउँबाट लखेट्ने, आक्रमण गर्ने काम भइरहेको बताउँछन् ।

संख्यामा धेरथोर भए पनि तीनै दलका एकअर्काबाट कुटिएका छन् । रोचक के छ भने, तीनै दलका उम्मेदवार र जिल्ला तहका नेता आफूबाट त्यस्तो नभएको भन्दै अर्कालाई दोषी देखाउने गर्छन् ।

‘धादिङमा जहिल्यै कुटपिट र लुटपिटको चुनाव हुन्छ’ क्षेत्र नं. १ मा पर्ने विकट रि गाविसका मतदाता रुकुकुमार लामा भन्छन्, ‘तामाङ बाहुल्य यस क्षेत्रमा राप्रपाले पनि यस्तै गर्छ ।’ प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलचाहिँ निर्वाचनमा हुने छिटफुट घटनालाई ‘कुटपिट र लुटपिटको चुनाव’ भन्न नहुने ठान्छन् । ‘निर्वाचनका बेला सानातिना घटना हुनु सामान्य हो,’ पोखरेलले भने, ‘आज पनि एमाले र एमाओवादीबीच झडप ठूलो होइन, प्रचारमा हिँडेका दुई पक्षका युवा चरौंदीमा भेट हुँदा हात हालाहाल भएको हो, कसैलाई गम्भीर चोट लागेको छैन, एमालेका केही कार्यकर्ता घाइते भएका छन् कान्तिपुर दैनिकले खबर लेखेको छ  ।’