धादिङमा स्वास्थ्यका १ सय ३० दरबन्दी रिक्त

505 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ – जिल्ला स्वास्थ्य कार्यालय धादिङमामा ठूलो संख्यामा कर्मचारी अभाव हुँदा सर्वसाधारणले पाउने स्वास्थ्य सेवा प्रभावित हुने गरेको छ । स्वीकृत ३ सय २२ दरबन्दीमध्ये १ सय ३० दरबन्दी रिक्त रहेको कार्यालय प्रमुख मोहम्मद दाउदले बताए । बाँकी १ सय ९२ कर्मचारी मात्र काममा रहेको उनले बताए ।

जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, दुई प्राथमिक स्वास्थ्य चौकी, ३३ स्वास्थ्यचौकी र १६ उपस्वास्थ्यचौकीकालाई स्वीकृत दरबन्दीमा स्वास्थ्यकर्मी अभाव भएको हो । ‘आवश्यकताअनुसार स्वास्थ्यकर्मी छैनन्,’ प्रमुख दाउदले भने, ‘जसोतसो स्वास्थ्य संस्था चलेका छन् ।’ पूरा दरबन्दी कर्मचारी नहुँदा तोकिएको समयमा तोकिएको सेवा सेवाग्राहीले पाउन नसकेको कार्यालयले जनाएको छ । ‘कतिपय स्वास्थ्य संस्थामा ७/८ जनाको ठाउँमा २/३ जना मात्रै हुनुहुन्छ,’ उनले भने । मन्त्रालयसँग माग गरेअनुसार कर्मचारी नआएको दाउदले बताए । उनले भने, ‘काम चलेकै छ, माथिल्लो निकायलाई दरबन्दी रिक्त रहेको बारे पटकपटक जानकारी गराएको छु ।’

कार्यालयको तथ्यांकअनुसार सबैभन्दा बढी अहेवको दरबन्दी खाली छ । १ सय ६ जना स्वीकृत दरबन्दीमा ५० प्रतिशत दरबन्दी रिक्त रहेको हो । ५३ जना अहेवको पदपूर्ति भएको छ भने सोही संख्यामा पद रिक्त छ । ४७ जना अनमीको पद रिक्त छ । ९२ जना दरबन्दीमा ४५ जना मात्र कार्यरत छन् ।