साना किसान विकास बैंकको निर्णयप्रति लगानीकर्ता रुष्ट

877 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

साना किसान बिकास बैंकको जगेडा कोषमा उल्लेख्य रकम र राम्रो कमाई रहे पनि लगानीकर्तालाई नगद लाभांश मात्रै दिने र हकप्रद जारी गरेर पूँजी थप्ने अनौठो निर्णय गरेपछि त्यस बैंकको शेयर मूल्य दोस्रो बजारमा ओरालो लागेको छ ।
file_635514708431718750किन निरास भए दोस्रो बजारमा शेयर किनेका साना किसानका सर्वसाधारण लगानीकर्ता ? मेरोलगानी डटकमले खोतल्ने प्रयास गरेको छ ।
बैंकले केहीदिन अघि लगानीकर्तालाई १५.७८ प्रतिशत नगद लाभांश दिने र ५० प्रतिशत हकप्रद जारी गरेर पूँजी बृद्दि गर्ने  निर्णय सार्वजनिक गरेको थियो ।
बैंकले गत आर्थिक बर्षमा ११ करोड ५५ लाख रुपैयाँ खुद नाफा गरेर प्रति शेयर आम्दानी ५० रुपैयाँ कायम गरेको थियो । २३ करोड पूँजी रहेको बैंकको जगेडा कोषमा  ७१ करोड रुपैयाँ छ । यति धेरै कमाई र जगेडा कोषमा चुक्ता पूँजीको झण्डै तेब्बर रकम हुँदाहुँदै पनि किन हकप्रद जारी गर्ने निर्णय गर्यो भन्ने कुरा रहस्यमय भएको लगानीकर्ताहरु बताउँंछन् । अरु लघुवित्तको कमाईसँगै प्रतिफल वितरण पनि फराकिलो बन्दै गए पनि साना किसानले भने प्रतिफल वितरण खुम्च्याएको छ ।
बैंकले अघिल्लो बर्ष ११ प्रतिशत बोनस र १५ प्रतिशत नगद लाभांश दिएको थियो । दोस्रो बजारका लगानीकर्ताहरुमा बोनस शेयर धेरै दिने कम्पनीहरुप्रति बढी आकर्शण रहेको पाईन्छ । साना किसानले यसपल्ट बोनस शेयर दिन कन्जुस्याई गरेकैले उनीहरुको मोहभंग भएको मान्न सकिन्छ । नेपाल स्टक एक्सचेन्जको दोस्रो बजारमा प्रति कित्ता १ हजार ६ सय ४९ रुपैयाँ सम्ममा शेयर उठाएका लगानीकर्ता १६ प्रतिशत नगद लाभांश मै चित्त बुझाउनु पर्दा निराश छन् । उल्टो निर्णय बाहिर आएपछि साना किसान विकास बैंकको शेयर भाऊ लगातार घटिरहेको छ ।
‘यदि कम्पनीलाई पूँजी बढाउनु नै थियो भने किन नगद लाभांश दिनु र हकप्रद जारी गर्नु ? यो त एक हातले दिएर अर्को हातले लिए जस्तै भईहाल्यो नि । जगेडा कोषमा त्यत्रो रकम राखेर फेरि हामीलाई हकप्रद वापत पैसा हाल भन्नु त भएन नि’ – आफ्नो परिचय गोप्य राखिदिन आग्रह गर्दै एक लगानीकर्ता भन्छन् ।
साना किसान बिकास बैंकका प्रमुख कार्यकारी जलनकुमार शर्मा भने १५.७८ प्रतिशत नगद लाभांश र ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने निर्णय लगानीकर्ताकै हितमा भएको दावी गर्छन् ।
‘हाम्रो साढे ५ अर्बको कारोबार भएकाले हामीलाई पूँजी नबढाई नहुने अबस्था भएको थियो, त्यसैले हामीले हकप्रद शेयर जारी गरेर पूँजी बढाउने निर्णय गर्यौं, संस्थाको दीर्घकालीन हितलाई हेरेर यो निर्णय भएको हो । ’  – शर्माको तर्क छ – लगानीकर्ताले हकप्रद शेयर निकै सस्तो मूल्यमा पाउंछन्, यो नै उनीहरुका लागि सबैभन्दा ठूलो राहत हो ।
जगेडा कोषमा अधिक रकम हुँदाहुँदै पनि किन बोनस शेयर नदिएको भन्ने बारेमा प्रमुख कार्यकारी शर्माको भनाई छ – जगेडा बढी हुँदा संस्था झन् संस्था बलियो हुन्छ र यो रकम पनि लगानीकर्ताकै रकम हो भनेर बुझ्नुपर्छ ।
साना किसानले चालु आर्थिक बर्षको पहिलो त्रैमासमै गत बर्षको सोही अवधिको तुलनामा खुद नाफा ५६ प्रतिशले बढाई ३ करोड ५७ लाख रुपैयाँ पुर्याएको छ । बैंकले गत बर्षको पहिलो त्रैमासमा २ करोड २९ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
बैंकले ब्याज आम्दानी ३६ र संचालन आम्दानी ६१ प्रतिशतले बढाएको छ भने संचालन खर्च ३१ प्रतिशतले घटाएको छ । कर्मचारी खर्च पनि ६ प्रतिशतले मात्र बढेको छ । बैंकको शुल्क, कमिशन र छुट शीर्षकको आम्दानी घटे पनि विदेशी मुद्राको कारोबारमा नाफा कमाएको छ ।  बैंकले निस्क्रिय कर्जालाई ०.७२ प्रतिशतबाट ०.१४ प्रतिशतमा झारेको छ भने ४१ लाख रुपैयाँ जोखिम कोषबाट नाफामा सारेको छ । बैंकको प्रतिशेयर आम्दानीलाई बार्षिकीकरण गर्दा ६२ रुपैयाँ पुगेको छ भने मुल्य आम्दानी अनुपात २२.२८,  प्रतिशेयर नेटवर्थ ४०८.४० रुपैयाँ र प्रति शेयर सम्पतिको मुल्य २९६९ रुपैयाँ रहेको छ ।
बैंकले देशभरिका साना किसान सहकारी संस्थाहरुलाई थोक कर्जा दिएर लघुवित्तको कारोबार गरिरहेको छ । बैंकमा साना किसान सहकारीहरुको ५५.५, कृषि बिकास बैंकको ३१.५, नेपाल बैंकको ८.८ र नबिल बैंकको ४.३ प्रतिशत संस्थापक शेयर स्वामित्व छ । बैंकले अघिल्लो बर्ष ५ करोड ७० लाख रुपैयाँको प्राथमिक शेयर निश्काशन गरेपछि त्यसमा सर्वसाधारणको हिस्सेदारी कायम भएको थियो ।
-मेरो लगानी डट कमवाट