धादिङ जिल्लाको प्रमुख ब्यापारिक केन्द्र खानीखोलामा आइटी सेन्टर स्थापना

526 पटक पढिएको

सम्पादक: Dhadingnews.com

index

धादिङ, ३० जेठ । धादिङ जिल्लाको प्रमुख  ब्यापारिक केन्द्र एबम राजधानी काठमाण्डौ बाट बाहिरिदा सबैभन्दा पहिलो बजार खानिखोलामा पहिलोपटक  सामुदायिक आइटी सेन्टर स्थापना गरिएको छ। डेविड एण्ड क्यारोलिन मेमोरियल एजुकेसन सेन्टर धुनिबेसीको नाममा स्थापना गरिएको सो सेन्टरको अस्ट्रेलियन राजदूत ग्लेन ह्वाइटले मङ्गलबार उद्घाटन गर्नुभयो।

‘धुनिबेसीबाट विश्व समुदाय अब टाढा रहेन। यहाँबाट संसार नियाल्न र सबैखाले सूचना सहजरुपमा पाउन सकिन्छ, यसको भरपुर फाइदा लिनुहोस्’– राजदूत ह्वाइटले उद्घाटन मन्तव्यका क्रममा भन्नुभयो ।

जिल्लाकै पहिलो आइटी सेन्टरबाट मोफसलका इन्टरनेट प्रयोगकर्तालाई विश्व समुदायसम्म चिनाउन सहयोग पुग्ने धारणा उद्घाटन समारोहमा उपस्थित अतिथिहरुले व्यक्त गर्नुभयो ।

धुनिबेसी उच्च माध्यमिक बोर्डिङ स्कुलको संरक्षणमा रहेको सेन्टरमा द्रुत गतिको इन्टरनेटसहितको सुविधा दिइने प्रिन्सिपल गोपाल कँडेलले बताउनुभयो ।

क्यान हेल्प अस्ट्रेलिया र क्यान हेल्प नेपालको २० हजार करिब रु १८ लाख आर्थिक सहयोगमा स्थापना गरिएको सेन्टरमा २० वटा सुविधायुक्त ल्यापटप राखिएको छ ।

कम्प्युटर शिक्षामा पहुँच नपुगेका बालबालिकालाई लक्षित गरी सेन्टर स्थापना गरिएको क्यान हेल्प नेपालकी अध्यक्ष प्रभा राजभण्डारी प्रधानले बताउनुभयो । कम्प्युटर शिक्षा लिन काठमाडाँैसम्म पुग्नुपर्दा खर्चिलो हुन्छ, जुन गाउँका बालबालिकाले पूरा गर्न सक्दैनन् र विभिन्न अवसरबाट वञ्चित हुन पुग्छन्, त्यस्तालाई ज्ञान सीप दिनका लागि सेन्टर स्थापनामा सहयोग गरेको उहाँले बताउनुभयो ।

क्यान हेल्पले यसअघि काठमाडौ र भक्तपुरमा पनि यस्तैखालको आइटी सेन्टर स्थापना गरेको क्यान हेल्प अस्ट्रेलियाका कार्यकारी निर्देशक ग्राहम् करीले जानकारी दिनुभयो । सामुदायिकरुपमा खोलिएको आइटी सेन्टरबाट सुविधा लिन सेन्टरको सदस्य बन्नुपर्ने धुनिबेसीका अध्यक्ष केदार पाठकले बताउनुभयो।

सेन्टर स्थापना गर्न आर्थिक सहयोग प्राप्त भए पनि सञ्चालनका लागि स्वनिर्भर बन्नुपर्ने भएकाले सामान्य शुल्क लिएर सेवा दिने समितिको निर्णय छ । सदस्यलाई ५० प्रतिशत र अन्यलाई तोकिएको शुल्क लिएर सेवा दिने पाठकको भनाइ छ ।

दिउँसोको समयमा विद्यालयका कक्षा ४ देखि ९ सम्मका बालबालिकालाई कम्प्युटर कक्षा सञ्चालन गरिन्छ। विद्यालयको पहलमा स्थापना गरिएको आइटी सेन्टरसँगै आफ्ना बालबालिकाले कम्प्युटर शिक्षा लिन पाउने खबरले अभिभावकसमेत खुसी भएका छन् । ७०० बालबालिका पढ्ने सो विद्यालयमा क्यान हेल्पले विगत १० वर्षदेखि ४० जना गरिब तथा जेहेन्दार बालबालिकालाई  छात्रवृत्ति प्रदान गर्दै आएको छ।