धादिङ जिल्लामा फोटो सहितको मतदाता नामावलीमा एक लाख ६५ हजार ६ सय ८० जनाको नाम दर्ता

777 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ( धादिङन्युज) । फोटो सहितको मतदाता नामवली दर्ता कार्यक्रम शुरु भएपछि धादिङ जिल्लामा एक लाख ६५ हजार ६ सय ८० जनाको नाम दर्ता भएको छ ।
जिल्ला निर्वाचन कार्यालय धादिङका प्रमुख रामकृष्ण अर्यालका अनुसार २०६८ सालदेखि धादिङ जिल्लामा शुरु गरिएको फोटो सहितको मतदाता नामावली संकलन अभियान अन्र्तगत चार हजार ९ सय ७५ जनाको भने वाहिरी जिल्लाबाट नाम दर्ता भई जिल्लामा आएको छ । असार मसान्त भित्र १८ बर्ष उमेर पुरा भएका व्यक्तिले मात्र आगामी मंसिर ४ गते हुने संविधान सभाको निर्वाचनमा मतदान गर्न पाउनेछन ।
बिहीवार धादिङबेसीमा जिल्ला सहास नेपाल ,नागरिक सचेतना समुह र नेपाल पत्रकार महासंघ धादिङशाखा द्धारा संयुक्त रुपमा आयोजित फोटो सहितको मतदाता नामावाली संकलन र नागरिकता बितरणको वर्तमान अवस्था बिषयक जिल्ला संवाद कार्यक्रममा निर्वाचन अधिकारी अर्यालले उक्त तथ्याङ सार्वजनिक गर्नुभएको हो ।
गत संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटा क्षेत्रमा गरी दुई  लाख ७६ हजार २ सय ५९ जना मतदाता रहेकोमा अहिले त्यो संख्या घटेको अर्यालले वताउनु भयो । फोटो सहितको मतदाता नामावली दर्ता भएपछि दोहोरो नामावली स्वत हटेकाले विगतको तुलनामा अहिले मतदाता संख्या कम भएको कार्यालयले जनाएको छ । यत राजनैतिक दलका नेताहरुले  भने अहिले पनि जिल्लाको ठुलो जनशक्ती देशवाहिर रहेकाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता हुन नसकेको वताएका छन ।
कार्यक्रममा धादिङका सहायक प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले २६ वटा घुम्ती टोली र चारवाट एकीकृत घुम्ती शिविर मार्फत १७ हजार २ सय ३१ जनाले यो बर्ष नेपाली नागरिकता लिएका छन । कार्यक्रममा जिल्लाका विभिन्न राजनैतिक दलका नेता तथा अन्य सामाजिक संघ संस्थाका प्रतिनिधि र संचारकमीहरुको सहभागिता रहेको थियो ।