मुल्याहा सन्तानको पिराइमा एमाले

973 पटक पढिएको

सम्पादक: Dhadingnews.com

गणेश बस्नेत

एमाले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले विगत सात वर्षमा सबैभन्दा बढी प्रयोग गरेको शब्द हो, मुल्याहा । नेपाली शब्दकोशको परिभाषाअनुसार मूल नक्षेत्रमा जन्मिएको, अरूलाई पीडा दिने र आफ्नैमाथि पिर्नेलाई मुल्याहा भनिन्छ । ज्योतिष शास्त्रअनुसार चार पाउमध्ये पहिलो पाउमा जन्मिए बाबु, दोस्रो पाउमा जन्मिए आमा, तेस्रो पाउमा जन्मिए दाजुभाइ, दिदीबहिनीदेखि काका–काकीसम्म र चौथोमा जन्मिए आफैंलाई समेत पिर्ने काम गर्छ । अर्थात्, चार पाउमा जन्मिएको मुल्याहा सन्तानले बाबुआमादेखि आफूसम्म कोही बाँकी राख्दैन । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र त्यो पार्टीका नेतासँग जोडेर एमाले वरिष्ठ नेता नेपालले मुल्याहा शब्दको निकै प्रयोग गरे, यसबीचमा । परिभाषा बुझेकाले यही शब्दका कारण युद्धकालमा नेपाली राजनीतिमा सबैभन्दा बढी भेटवार्ता गरेका र व्यवहारमा अत्यन्तै मिल्ने भनी कहलिएका नेपाल र दाहालबीच बोलचालसमेत बन्द भयो । सार्वजनिक रूपमा नेपाल र दाहालले एकअर्कामाथि आरोपको वर्षा गरे । मध्यमार्गीहरूकोे प्रयासमा दुवैले क्षमायाचना पनि गरे, आत्मसम्मानमा ठेस पुगेको भए माफी चाहन्छु भन्दै । त्यसपछि दुई कम्युनिस्ट पार्टीका शीर्ष नेताबीचको सम्बन्ध सुध्रियो ।
यद्यपि, अहिले पनि आन्तरिक भेला वा प्रशिक्षणमा बेलाबेला एमाले वरिष्ठ नेता नेपाल एमाओवादी नेतालाई दाँजेर मुल्याहा शब्दको प्रयोग गरिनै रहन्छन् । मुल्याहाले दिने पीडा र आफ्नैको विनाशबारे प्रस्ट भाषामा कार्यकर्तालाई सचेत गराइरहन्छन्, नेपाल ।
विश्व कम्युनिस्ट आन्दोलन, नेपाली कम्युनिस्ट आन्दोलन र कम्युनिस्ट पार्टीप्रति नेपाली जनतामा रहेको सकारात्मक धारलाई समाप्त पार्न एमाओवादीले भूमिका खेलेको निष्कर्षसहित नेपालले त्यसका नेताहरूलाई मुल्याहाको उपमा दिएका हुन् । जनताको घरबाट सियोसमेत नलिनु भन्ने आदर्श बोकेको कम्युनिस्ट पार्टीकै आवरणमा युद्धकालमा जनताको घर नै लुटेको घटना र शान्ति प्रक्रियापछि सबैभन्दा बढी गरिब, असहाय जनतालाई दुःख दिएको फेहरिस्त राखेर मुल्याहा शब्दको व्याख्या गर्ने गरेका छन्, नेपालले ।
एमाओवादीलाई प्रयोग गर्ने माधव नेपालको त्यो शब्दबाण अहिले उनकै पार्टी एमालेमा निकै झाँगिएको छ । मुल्याहा सन्तान जन्मिएको मात्र नभई डरलाग्दो गरी मौलाउन थालेको छ, उनको पार्टीभित्र । दोस्रो संविधानसभाको निर्वाचन हुनु तीन महिना पनि बाँकी नरहेको र उम्मेदवारी मनोनयन गर्ने समय एक महिना १० दिन मात्र बाँकी रहेका बेला मुल्याहा सन्तानले एमाले यतिबेला ठूलै संकटमा पर्न थालेको छ । एमाले वरिष्ठ नेता नेपालले भन्ने गरेको मुल्याहा सन्तानले एमाओवादीलाई कत्तिको असर ग¥यो भन्ने परिणाम देखिइसकेको छ । पार्टी नै विभाजन भइसकेपछि अरू थप व्याख्या गरिरहन परेन । आफंैलाई पिर्ने हो, त्यही काम भइसकेको छ । तर, एमाले पनि मुल्याहा सन्तानको सिकार हुने अवस्थामा छ । चुनावको बेला एमालेका नेता–कार्यकर्तामा मुल्याहा प्रवृत्ति निकै बढेको छ ।
चुनावमा विपक्षी रणनीतिलाई सहजै पराजित गर्न सक्ने हैसियत रहेको र जनताको समर्थन पनि बढिरहेका बेला जनताको बहुदलीय जनवादी सिद्धान्त र प्रभावशाली भ्रातृ संगठन युवा संघ नेपालमा विवाद झिकेर एमालेलाई चुनाव हराउने र जनतालाई परपर धकेल्ने काम भइरहेको छ । जननेता मदन भण्डारीद्वारा प्रतिपादित र माक्र्सवादको सिर्जनात्मक प्रयोग जनताको बहुदलीय जनवाद (जबज) को अपव्याख्या वा प्रभावशाली भ्रातृ संगठन युवा संघ नेपालमा देखिएको अराजकता र ताण्डव एमाले वरिष्ठ नेता नेपालको मुल्याहा सन्तानको शाब्दिक अर्थलाई व्यवहारमा रूपान्तरण गर्ने काम भइरहेको छ । चुनावको बेला बखेडा झिक्नेहरू मुल्याहा नै हुन्, शब्दकोशको परिभाषाअनुसार । त्यसैले, चुनावमा जनताले निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन युथ फोर्स गठन गर्दा ती मुल्याहाहरूको टाउको दुखेको छ । किनकि, एमालेले जित्दा तिनीहरूलाई कुनै फाइदा छैन । अहिलेदेखि नै एमाओवादी वा अन्य दलसँग साँठगाँठ गरी ती मुल्याहाहरू एमालेलाई चुनावमा हराउन चाहन्छन ।
गुन्डागर्दीलाई परास्त गर्न र जनतालाई निर्धक्क मत हाल्ने वातावरण बनाउने काम गर्नुहुन्न, युवा संघ मुर्झाएर बस्नुपर्छ विगतकै जसरी भन्नेहरू मुल्याहा सन्तानभन्दा पनि चर्का हुन् । यसतर्फ बेलैमा एमालेका शीर्ष नेतादेखि साधारण कार्यकर्तासम्म सचेत हुन जरुरी छ । तर, विडम्बना नै भन्नुपर्छ, युवा संघमा देखिएको अराजकता र गुटबन्दीमा शीर्ष नेताहरू आफंै विवादमा उत्रनु वा तानिनुचाहिँ दुर्भाग्यपूर्ण छ । अध्यक्ष झलनाथ खनालको बैठक रोक्ने निर्देशनदेखि वरिष्ठ नेता नेपालको ‘गलत नै भए पनि पार्टी अध्यक्षले दिएको निर्देशन मान्नुपर्छ’ भन्ने अभिव्यक्तिले नेताहरू विभाजित बनेको प्रस्टै देखिन्छ । अन्तिम घडीमा निर्देशन दिएर अध्यक्ष खनालले युवा संघको बैठक होस्, गुटबन्दीमा लागेकाहरूले पनि चित्त बुझाउन भन्ने भाव प्रकट गरेका हुन् । विगतमा थुप्रै बहस भएका छन्, अध्यक्ष खनालको सन्दर्भमा । खासगरी, एमाओवादी नेतृत्वको सरकारलाई प्रधानसेनापतिबाट रुकमांगद कटवाललाई हटाउन सहमति दिनेदेखि आफू नेतृत्वको सरकार गठनका लागि गरेको सातबुँदे सम्झौतासम्मका निर्देशन पालना भएको भए एमालेको अवस्था के हुन्थ्यो भन्ने सबैलाई जानकारी नै छ । ती सबै निर्देशन मानिएको भए जनताको बहुदलीय जनवाद र एमालेको छुट्टै पहिचान रहन्थ्यो कि रहन्नथ्यो भन्नेमा जोकोही एमालेजन जानकार छन् । एमाले वरिष्ठ नेता नेपालले युवा संघको बैठक रोक्न अध्यक्षले दिएको निर्देशन गलत भनेका छन्, तर गलत कुरा पनि मान्नुपर्छ भन्ने निर्देशनले चाहिँ सबैलाई आश्चर्यचकित बनाएको छ । एक्काइसौं शताब्दीमा यस्तो कुरामा जोकोही समहत हुनै सक्दैन । युवा संघमा रहेका केही मुल्याहा सन्तानहरूको कुरा सुनेर शीर्ष नेताहरू यसरी विवादमा मुछिनु राम्रो होइन । चुनावको बेला त यस्तो सोच्नु पनि हुँदैन । तर, नेताहरू आफैं हिजोको इतिहास बिर्सिएर बखेडामा लाग्नुचाहिँ दुर्भाग्यपूर्ण हो ।
चुनावको बेला नेताहरूले युवा संघ र एमालेमा रहेका युवाहरूको धेरै चिन्ता लिन जरुरी छैन । एकाध फटाहा होलान, गुटबन्दीमा लागेका होलान्, जबजलाई अपव्याख्या गर्दै कसरी सभासद् बन्ने भन्दै सौदाबाजी गरिरहेका पनि होलान्, तर आमयुवा त्यो रोगबाट मुक्त छन् । युवा संघको अहिलेको मूल नेतृत्व त झनै परिपक्व भइसकेको छ । एक पटक नेतृत्व दिएर हजारौं युवालाई आफूतिर तानिसकेको छ । त्यसैले, युवा संघ चलाउन महेश बस्नेत आफैं काफी छन् भन्ने प्रमाणित भइसकेको विषय हो । अब उनले थप परीक्षा दिइरहन जरुरी छैन । नेपाली युवाहरूलाई रूपान्तरण गर्ने कुरामा महेश र उनको टिमले गरेको काम नै काफी छ । महेश बस्नेतकै कारण चर्चित डन रमेश बाहुन भन्ने सुजन पौडेल र चरी भनिने दिनेश अधिकारीमा परिवर्तन आएको छ । गतल बाटो समातेका युवालाई कसरी प्रशिक्षित गरी राजनीतिमा सहभागी गराउनुपर्छ र आतंकको कसरी सामना गर्नुपर्छ भन्ने विषयमा महेश बस्नेतलाई राम्ररी ज्ञान छ । उनले नेतृत्व गरेको युथ फोर्स र युवा संघले जनताबीच आतंक बनेको वाईसीएललाई तह लगाइसकेका छन् । त्यही अनुभवले उनी अहिले पनि डनलाई रूपान्तरणसहित जनताको पक्षमा उभ्याउने काम गरिरहेका छन् । उनकै अथक प्रयासस्वरूप यतिबेला चर्चित डन रमेश बाहुन र चरीहरू एमाले नेता बनिरहेका छन् । विगतलाई
कोट््याएर उनीहरूले आगामी दिनमा गर्न सक्ने समाजसेवा र योगदानलाई कमजोर पार्ने काम
आफ्नै पार्टीका नेता कार्यकर्ताबाट हुनु उचित होइन । युवाहरूबीच लोकप्रिय बनेकै कारण पर्शुराम बस्नेतलाई गुन्डागर्दीको नाइके बनाउने कोसिस पनि एमालेभित्रैबाट नभएको होइन, तर उनमा क्षमता र सहन सक्ने शक्ति भएकै कारण टिकिरहेका छन् । आफूलाई सुधार गरी असहाय र गरिबका लागि लाग्ने अठोट गरेका युवाहरूलाई राम्रो कामका लागि नै प्रोत्साहित गर्नुपर्छ । विगत कोट्याएर फेरि गुन्डागर्दीमै जाऊ भन्नेहरूले आफूलाई परिवर्तनकामी भन्नुको तुक रहन्न ।
सम्पूर्ण ध्यान चुनावमा केन्द्रित गर्ने बेलासमेत केन्द्रीय तहका नेतामा पनि त्यही मुल्याहा प्रवृत्ति मौलाएको छ । चुनावको मुखमा जबजलाई मान्दै मान्दिनँ भनेर कसम खाएकाहरू अनावश्यक बखेडा झिकिरहेका छन् । सोझै भन्ने हो भने कसरी एमाले सकाउने भनेर नानाभाँती पासा फालिरहेका छन् । उनीहरूलाई जबजलाई कसरी समृद्ध बनाउनेभन्दा पनि आगामी निर्वाचनमा कसरी एमालेलाई हराउने वा आफू सांसद बन्ने भन्नेतिर केन्द्रित छ । पोलिटब्युरो सदस्य पृथ्वी सुब्बा गुरुङले पार्टीको एउटा भेलामा मुखै खोलेका थिए, जबजको नाममा पार्टीलाई खुइल्याउनेहरू पद प्राप्तिका लागि जबजको बहसका नाममा सिद्धान्तको अपव्याख्या वा भ्रष्टीकरण गरिरहेका छन । गुरुङको त्यो निष्कर्षले जनताको बीचमा शून्य हैसियतमा रहेका ती कथित नेताहरू जसै गरी पनि टिकट नपाउने निश्चित भएपछि जबजको बहस भन्दै कुखुराचोर स्यालजसरी बखेडामा उत्रिएका हुन् भन्ने बुझ्न गाह्रो छैन । समय निकै घर्किसकेको छ । अब एमालेका शीर्ष नेताहरू एक ठाउँमा उभिएर जनतालाई उत्साही बनाउन लाग्नुपर्छ । मुल्याहा सन्तानलाई पनि चाँडो गाईको टाङमुनि छिराएर वा धुरीबाट कटाएर उपचार दिनुपर्छ । बल्खु, डल्लु वा कोटेश्वर बसेर बहुमत आउँछ भन्दैमा जनताको मन जित्न सकिँदैन । मन जित्नलाई एमालेका सबै शीर्ष नेता एकढिक्का भएर लाग्न जरुरी छ । झलनाथ खनाल, माधव नेपाल, केपी ओली, वामदेव गौतम र ईश्वर पोखरेल एकसाथ रहेर चुनावमा जाँदा मात्रै परिणाम एमालेको पक्षमा आउने हो । त्यो परिणामका लागि नलागी महाधिवेशन भइहाल्यो भने कार्यकर्ताले चाहेका व्यक्तिलाई रोकेर कसरी आफू बन्ने भन्ने मनोगत चाहनाको बन्धक बन्नुहुँदैन । शीर्षमध्ये एमालेमा परीक्षण हुन बाँकी नेता केही ओली मात्र हुन । शीर्षमध्ये माधव नेपाल र झलनाथ खनालले पार्टी र सरकार दुवैको नेतृत्व गरिसकेका छन । केपी ओली मात्र परिक्षण हुन बाँकी नेता हुन् । यही यथार्थका कारण कार्यकर्ताको नजरमा महाधिवेशनअगावै अध्यक्ष बनिसकेका ओलीलाई प्राविधिक रूपमा अध्यक्ष हुनबाट कसरी रोक्न सकिन्छ भन्दै षडयन्त्र गर्न थालियो भने चुनावमा एमाले स्वं त्यसको सिकार हुनेछ । एमाले सिकार हुँदा ओली मात्र होइनन्, खनाल, नेपाल र गौतमहरू पनि बाँकी रहँदैनन । सबैभन्दा ठूलो सिकार संविधानसभा र मुलुक हुनेछ भन्ने हेक्का हुनैपर्छ । ओलीले पार्टीको नेतृत्व गर्दा खनाल र नेपालको पनि सम्मानित नेताकै हैसियत रहन्छ भन्ने आमएमालेजनको बुझाइ छ । त्यसो भए नेता लडाउन चाहने मुल्याहा सन्तानको केही चल्दैन । त्यसैले, अब नेतादेखि कार्यकर्तासम्मले आफ्नैलाई मात्र पिर्ने मुल्याहा सन्तानको उपचार तत्कालै गर्नुपर्छ र त्यस्तो नबन्ने अठोट गर्न जरुरी छ । अन्यथा, जनताको नजरमा पहिलो दल एमाले चुनावमा फेरि दोस्रो वा तेस्रो स्थानमा पुग्नेछ ।
राजधानी दैनिकमा ५ भदौंमा प्रकाशित लेख हो ।