658 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मित्र केशव अधिकारी
धादिङ न्युज डटकम परिवार

बन्दको व्यापक सदुपयोग गर्दै भदौ २७ गते बिहान म धादिङ न्युज डटकममा घोत्लिएँ । धादिङका तपाइँहरू जस्ता उत्साही र क्रियाशील युवा पत्रकारको यो प्रयत्न धेरै प्रशंसनीय लाग्यो । यसले धादिङलाई दुनियाँसँग जोड्ने काम गरेको छ । धादिङका सामाजिक, राजनीतिक, आर्थिक, साहित्यिक एवम् सांस्कृतिक सन्दर्भहरूलाई पहिलो प्राथमिकतामा राखेर समाचार सामग्री प्रवाह भएको देख्दा र पढ्दा असाध्य खुसी लाग्यो । धादिङको हकमा बितेको ७–८ वर्ष अघि मैले झण्डै झण्डै यसै किसिमको कल्पना गरेको थिएँ । धादिङको राजनीतिक, साहित्यिक र पत्रकारितासँग सम्बन्धित केही मित्रहरूसँग यस्तै प्रयत्न आरम्भ गर्न आग्रह गरेको थिएँ र आफ्ना तर्फबाट सक्दो सहयोग हुने वचन समेत दिएको थिएँ । तर त्यो कुरा र प्रस्ताव त्यत्तिकै सेलाएको थियो । धादिङ न्युज डटकममा विचरण गर्दा मलाई आज आफ्नै सपना ढकमक्क भएर फुलिरहे जस्तो लाग्यो । केशवजी, तपाइँ र तपाइँको टिमलाई धेरैधेरै साधुवाद ।
सल्लाह र सुझाव दिन त सजिलो छ, तर लिनेलाई सुझाव कार्यान्वयन गर्न निकै सकस हुन्छ भन्ने कुराको भुक्तभोगी म स्वयम् पनि हुँ । तथापि मलाई धादिङ न्युज डटकममा समावेश गरिनु पर्ने सामग्रीहरू बारे केही सुझाव र सल्लाह दिन मन लाग्यो ।

१. संवाद वा यस्तै कुनै नाम दिएर एउटा स्तम्भमा धादिङको राजनीतिक, साहित्यिक, सांस्कृतिक आर्थिक वा व्यवसायिक क्षेत्रमा विशिष्ट किसिमको योगदान दिँदै आएका व्यक्तित्वहरूसँगको कुराकानी समावेश गरिनु पर्दछ ।
२. धादिङको माटोमा जन्मिएर कुनै पनि क्षेत्रमा राष्ट्रिय व्यक्तित्व निर्माण गरिसकेका व्यक्तित्वहरूको परिचयात्मक सामग्री राख्नु आवश्यक छ । यसमा जीवित र बितिसकेका दुवैलाई समेट्न सकिन्छ ।
३. धादिङका ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय स्थलहरूका बारेमा जानकारी दिने किसिमका सामग्रीहरू क्रमशः समावेश गर्दै जानु पर्ला ।
४. बहुविद जाति जनजातिको बसोबास रहेको धादिङ बहुसंस्कृति भएको जिल्ला पनि हो । दक्षिणी क्षेत्रमा रहेका चेपाङहरूको चेपाङ संस्कृति, मध्य क्षेत्रमा रहेका मगरहरूको मगर संस्कृति, उत्तरी क्षेत्रमा रहेका तामाङहरूको तामाङ्÷शेर्पा संस्कृति, सदरमुकाम र आसपासमा रहेका नेवारहरूको नेवार संस्कृति, बुढी गण्डकी आसपासमा रहेका माझी वा कुमालहरूको संस्कृति लगायत भाषाभेष र सांस्कृतिक परम्परा प्रस्तुत गर्ने सामग्रीहरू पाठकहरूका साथै अध्ययन अनुसन्धाताका निम्ति रुचिपूर्ण हुन सक्छन् ।
५. समसामयिक राजनीतिक, आर्थिक वा साहित्यिक विश्लेषणयुक्त सामग्रीका निम्ति सम्बन्धित कलमवाजहरूलाई आग्रह गरी सामग्री जुटाउने तर्फ पनि विशेष ध्यान दिनुपर्ला ।
६. धादिङ न्युज डटकम पढ्ने पाठकहरूले गरेका टिप्पणी र प्रतिक्रिया समाविष्ट हुने थलो खै त ?
७. समाचार सामग्रीहरूमा प्रयुक्त भाषा अझै परिस्कार गर्दै लैजानु पर्ला ।

केशवजी,
मैले केही सुझाव र सल्लाहहरू अघि सारेँ । राजधानीमा भएका साहित्यिक गतिविधी सम्बन्धी समाचार सहित धादिङसँग कुनै न कुनै रूपले सम्बन्ध जोडिएका सामग्रीहरू नियमित रूपमा सम्प्रेषण गर्ने वचनवद्धता जाहेर गर्दै….

नरनाथ लुइँटेल
कलङ्की, काठमाडौं