‘दैनिक दुई अर्ब नोक्सानी हुने हुदा बन्दको प्रतिरोध गरौं’

700 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं /एक दिनकोे बन्दले राष्ट्रलाई २ अर्बभन्दा बढी नोक्सानी हुने भन्दै अर्थविद् तथा उद्यमीहरुले बन्दविरुद्ध राष्ट्रिय एकताको आव्हान गरेका छन् । शनिबार राजधानीमा कार्यक्रम आयोजना गरेर अर्थविद् तथा उद्यमी–व्यवसायीहरुले बन्दको प्रतिरोध गर्न आव्हान गरेका हुन् । ‘बन्दले दैनिक २ अर्ब नोक्सानी हुन्छ, जनताले दुःख पाउँछन् त्यसैले यसको सामूहिक प्रतिरोध आवश्यक छ’ उनीहरुले भने । कार्यक्रममा अर्थमन्त्रालयका प्रमुख आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले नेपालीहरुका बीच बन्द संस्कृति बन्दै गएको भन्दै त्यसले अर्थतन्त्रलाई जर्जर बनाउँदै लगेको बताउनुभयो । ‘हामीलाई प्रत्येक महिनामा एक दिन नेपाल बन्द भैदेओस् भन्ने लाग्न थालिसकेको छ, दुई–तीन दिनको बन्द त हामी सहजै काट्ने भइसकेका छौं’ नेपालले भन्नुभयो । उहाँले बन्द संस्कृतिले नेपाललाई आर्थिक रुपमा टाट पल्टाउँदै लगेको दाबी गर्नुभयो । ‘हामी दशैं र तिहारका नाममा हप्तौंसम्म आर्थिक गतिविधि गर्दैनौं, व्यवसाय बन्द गरेर बस्छौं । यसले अर्थतन्त्रलाई कुँजो बनाउँछ’ नेपालले भन्नुभयो । 
विभिन्न चाडपर्वको बेला व्यवसायी आफैंले व्यवसाय बन्द गरेर तास र जुवामा रमाउनुले पनि अर्थतन्त्रलाई प्रभावित पार्ने गरेको भन्दै उहाँले आफैंले गर्ने बन्द पनि नराम्रो पक्ष रहेको औंल्याउनुभयो । ‘बन्द अर्थतन्त्रका लागि डरलाग्दो परिस्थिति हो यहाँ त व्यवसायीहरुले आफंै बन्द गरेर पैसा खर्च गर्नबाट रोकिदिन्छन्’ उहाँले भन्नुभयो ‘क्रिष्टमसमा विदेशमा २४ घण्टा व्यवसाय सुचारु हुन्छ, नेपालमा दशैं र तिहारमा व्यवसायीहरुले आफैं बन्द गरेर अर्थतन्त्रलाई चलायमान हुनबाट रोके ।’ वरिष्ठ अर्थविद् डा. चन्द्रमणि अधिकारीले बन्द र हड्ताल नगर्ने प्रतिबद्धता जनाउने राजनीतिक पार्टीलाई भोट दिन अपिल गर्नुभयो । उहाँले बन्दका कारण दैनिक २ अर्बभन्दा बढी नोक्सान पर्ने भन्दै कम बन्द गर्ने दललाई बढी चन्दा दिन अपिल पनि गर्नुभयो । ‘तपार्इंहरुले दलहरुलाई चन्दा दिइरहनुभएको छ, अब बन्द नगर्ने र गरिहाले पनि थोरै मात्रै बन्द गर्ने दललाई अलि बढी चन्दा दिने परिपाटी बसाल्नुस्’ डा. अधिकारीले भन्नुभयो ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले सबै राजनीतिक पार्टीले बन्दको विकल्प खोज्नुपर्ने भन्दै अबका दिनमा कुनै पनि बन्दकर्ताको बन्द सफल नहुने बताउनुभयो । उहाँले बन्दबाट व्यवसायीहरु आजित भएकाले बन्दका कार्यक्रम गर्नेहरुले पराजय भोग्नुपर्ने उल्लेख गर्नुभयो । विगतका तुलनामा बन्दविरोधी जनमत बढेको भन्दै उहाँले जुनसुकै दल र संगठनको बन्दको विरुद्धमा उभिन सबैलाई अनुरोध गर्नुभयो ।   त्यसैगरी राष्ट्रिय व्यापार संघका अध्यक्ष रमेशचन्द्र बादे श्रेष्ठले बन्द र हड्तालको प्रतीकार सुरु भइसकेको उल्लेख गर्दै बन्दको विरुद्धमा उभिन अनुरोध गर्नुभयो । उहाँले समस्या समाधानको उपाय बन्द नभएको भन्दै सहमतिको पहलका लागि वार्ता र संवाद नै महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रमका सबै वक्ताहरुले नेपालमा अब कुनै पनि बन्द सफल नहुने र जनताले स्वस्फूर्त प्रतीकार गर्ने धारणा राखेका थिए ।